सम्बन्धित विद्यालयबाटै कक्षा ११ को परीक्षा हुने

Exam
Exam
July 24, 10:31


श्रावण ९, २०७७
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएको कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । परीक्षा सञ्चालन गरेर विद्यालयले नै प्रमाणपत्र जारी गर्ने व्यवस्था गरिएको हो । यो वर्ष बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई भने आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिने निर्णय भइसकेको छ ।

बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन र नतिजा प्रकाशनका लागि बिहीबार कार्यविधि जारी गरेको छ । राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले असार १९ गते परीक्षा सञ्चालन र प्रमाणीकरणको जिम्मा विद्यालयलाई दिने निर्णय गरेको थियो । यसअघि कक्षा ११ को लिखित परीक्षा बोर्ड र प्रयोगात्मक परीक्षा विद्यालयले सञ्चालन गरेर बोर्डले प्रमाणपत्र जारी गर्थ्यो ।

कक्षा ११ मा भर्ना भएर ७० प्रतिशत हाजिरी भएका विद्यार्थी विद्यालयले सञ्चालन गर्ने परीक्षामा सहभागी हुन पाउनेछन् । उनीहरूको रजिस्ट्रेसन भने बोर्डमा भराउनुपर्नेछ । परीक्षा सञ्चालन, नतिजा प्रकाशन र प्रमाणीकरणका लागि प्रधानाध्यापकको संयोजकत्वमा समिति रहनेछ । कक्षा शिक्षक र प्रअले मनोनीत गरेका एक विषय शिक्षकसहित तीन सदस्यीय परीक्षा तथा प्रमाणीकरण समिति रहने कार्यविधिमा उल्लेख छ । परिषद्को निर्णयअनुसार कक्षा ११ को परीक्षा सञ्चालनको मूल्यांकनको जिम्मा विद्यालयलाई दिएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जनाए ।

परीक्षा समितिलाई प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र उत्तरकुञ्जिका निर्माणसमेतको अधिकार दिइएको छ । विद्यार्थीको नतिजा भने अनिवार्य रूपमा बोर्डमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । कक्षा ११ का सबै विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ‘डी प्लस’ र प्रयोगात्मकतर्फ न्यूनतम ‘सी ग्रेड’ प्राप्त गरेका विद्यार्थीले मात्र कक्षा १२ को परीक्षा आवेदन दिन पाउने व्यवस्था गरिएको छ । ‘परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न असमर्थ विद्यार्थीहरूका लागि विद्यालयले ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्नुपर्नेछ,’ कार्यविधिमा छ । यसअघि कक्षा ११ को परीक्षा दिएका विद्यार्थी १२ मा भर्ना भएर परीक्षा दिन पाउँथे । यसपटक ग्रेडवृद्धि परीक्षाको फाराम भरेका विद्यार्थीको हकमा भने बोर्डले नै परीक्षा सञ्चालन गर्ने अर्यालले बताए । यस वर्ष कक्षा ११ मा ५ लाख २४ हजार परीक्षार्थी छन् ।

बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो वा दोस्रो साता सञ्चालन गर्ने तयारी अघि बढाएको छ । सदस्यसचिव अर्यालले असोज १५ गतेभित्र परीक्षा सक्ने गरी समय तालिका प्रकाशित गर्ने जनाए । सरकारले भदौ १ देखि लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको छ । परीक्षार्थी परीक्षा केन्द्रसम्म आउन र केही साता तयारी पनि गर्न पाउने गरी समय तालिका सार्वजनिक गरिने उनले जनाए । वैशाखमा तोकिएको परीक्षा कोरोना संक्रमण र लकडाउनका कारण स्थगित गरिएको थियो । बोर्डले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

गत वैशाख ८ देखि कक्षा १२ र वैशाख २१ देखि कक्षा ११ को परीक्षा सञ्चालन गर्न समय तालिका सार्वजनिक गरेको थियो । कोरोना संक्रमणले शिक्षण संस्थाहरू बन्द हुँदा चैत २५ गते दुवै कक्षाको वार्षिक परीक्षा स्थगित गरिएको थियो । कक्षा १२ मा ४ लाख ३१ परीक्षार्थी छन् ।

कक्षा १० को एसईई र कक्षा ११ का विद्यार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराइने भएको छ । एसईई अर्को वर्षदेखि कसरी सञ्चालन गर्ने भन्ने निश्चित छैन । विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा एसईईका परीक्षार्थीलाई बोर्डले नै प्रमाणपत्र दिनेछ । कक्षा ११ को परीक्षा भने सधैंका लागि विद्यालयलाई जिम्मा दिइएको हो । प्रमाणपत्र पनि विद्यालयले नै दिनेछ ।

एसईईको आन्तरिक मूल्यांकनको अंक बोर्डमा आउन थालेको छ । ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईबाट अंक प्राप्त भएपछि बोर्डले साउन १५ सम्म नतिजा सार्वजनिक गर्ने जनाएको छ । ‘धेरै जिल्लाबाट अंक प्राप्त भएको छ, रुजु गर्ने काम सुरु भएको छ,’ अर्यालले भने, ‘सबै जिल्लाबाट विवरण प्राप्त भएपछि नतिजा प्रकाशन गर्छौं ।’ ४ लाख ८२ हजार परीक्षार्थीको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न लागिएको हो ।

विश्वविद्यालयमा पनि परीक्षा तयारी

सरकारले भदौ १ गतेदेखि परीक्षा सञ्चालन गर्न सक्ने निर्णय गरेपछि विश्वविद्यालयहरूले पनि परीक्षाको तयारी अघि बढाएका छन् । त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालनको जिम्मा सम्बन्धित डिन कार्यालयलाई दिने निर्णय गरेको शिक्षाध्यक्ष शिवलाल भुसालले जानकारी दिए ।

चिकित्सा शिक्षा अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानले परीक्षाको गृहकार्य सुरु गरेका छन् । लकडाउन सुरु भएपछि त्रिविका सञ्चालन भइरहेका परीक्षासमेत रोकिएका थिए । इन्जिनियरिङ अध्ययन संस्थानले भदौ ७ देखि परीक्षा सञ्चालन गर्ने भएको छ । डिन कार्यालयले विज्ञप्ति प्रकाशित गरेर स्थगित स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने जनाएको हो । विश्वविद्यालय अनुदान आयोगले पनि परम्परागत विधि वा वैकिल्पक विधिबाट परीक्षा सञ्चालन गर्न निर्देशिका जारी गरेको छ । त्रिविको परीक्षा सुधार समितिले परम्परागत विधिबाट सम्भव नभए वैकल्पिक विधिबाट परीक्षा गर्न सुझाव दिएको छ । त्रिविले आफ्ना मातहतका सबै निकाय, क्याम्पस र विभाग सञ्चालन गर्न सर्कुलर गरेको छ ।

अन्य १० वटै विश्वविद्यालयले पनि पठनपाठन बन्द रहे पनि अन्य प्रशासनिकलगायतका गतिविधि सुचारु गर्न थालेका छन् । लकडाउन अन्त्य भएकाले परम्परागत विधिबाट स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने त्रिविका पदाधिकारीले बताएका छन् ।

निजीमा अनलाइन कक्षा सुचारु

निजी विद्यालय सञ्चालकहरूले स्थगित गरेका अनलाइन र दूर शिक्षाका कक्षा बिहीबारबाट सुचारु भएका छन् । सरकारले आफ्ना मागलाई बेवास्ता गरेको भन्दै प्याब्सन र नेसनल प्याब्सनले साउन १ गतेदेखि कक्षा बन्द गरेका थिए ।

विद्यार्थी, अभिभावक र सरोकारवालाको आग्रहपछि कक्षा सुचारु गर्ने निर्णय गरिएको प्याब्सन, एनप्याब्सनले जनाएका छन् । विद्यालय पुनः सञ्चालनका विषयमा शिक्षा मन्त्रालयले बुधबार सरोकारवालाहरूसँग छलफल गरेको थियो । छलफलपछि वैकल्पिक कक्षा सुरु गर्ने प्रतिबद्धता आएको हो ।
यो समाचार कान्तिपुर दैनिक पत्रीकाको लागि सुदीप कैनीले लेख्नुभएको छ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा