वर्षातले बाटो अवरुद्ध हुँदा  खनिसकेको आलु खेतमै अलपत्र

doti news
doti news
June 15, 1:58

असार १, डोटी ।
निरन्तरको वर्षातका कारण बाटो अवरुद्ध हुँदा डोटीको जोरायल गाउँपालिका वडा नंं १ तोली गाउँका किसानले खनिसकेको आलु खेतमै अलपत्र परेको छ ।
तिलाचौड तरकारी ब्लक समन्वय समितिका अध्यक्ष खडक मल्लका अनुसार झण्डै २ सय ३० क्विण्टल जति खनिसकेको आलु खेतमै रहेको छ ।
गत जेठ २६ गते रातीको मुसलधारे वर्षातका कारण तोली गाउँ लगाएत आसपासका गाउँसम्म जाने कच्चि सडक ठाउँ–ठाउँमा अवरुद्ध भएको थियो । त्यसैमा जेठ ३० गते रातीबाट मंगलबारसम्म अविरल ३ दिनसम्म परिरहेको वर्षातका कारण उक्त कच्ची सडक झन–झन बिग्रँदै गएको स्थानीय किसानले बताएका छन् ।
सो क्षेत्रमा करिब ६५ घरपरिवारले लगभग ५५ क्विन्टल जति आलुको बिउँ रोपेको ग्रामिण कृषि कार्यकर्ता समेत रहेका किसान मल्लले जानकारी दिए । जहाँ एकै जना किसानले ७ क्विण्टलसम्म आलुको बिउँ रोपेका छन् ।
किसानले बोकेर मुख्य सडकसम्म लैजान सम्भव नभएको र गाडी जाने सडक अवरुद्ध भएकाले सम्बन्धित निकायले समयमै ध्यान दिन त्यहाँका किसानहरुले अपील गरेका छन् । तोली गाउँमा करिब १ हप्तापश्चात क्विण्टलका हिसाबले टमाटर उत्पादन हुने तयारीमा रहेको बताईएको छ । टमाटर भने तुरुन्तै बजारमा पुर्याउन नसके बारीमै कुहिने खतरा हुन्छ ।
आफुहरुको लामो समयदेखिको कडा परिश्रमले फलाएको आलु लगाएतका कृषि उत्पादनहरु बजारसम्म लैजान जोरायल गाउँपालिका १ अन्तरगत भीमदत्त राजमार्गको गोल्डेनदेखि सो गाउँपालिका वडा नं. ४ को बगस्ती बागखोरसम्म अवरुद्ध सडक खोलिदिन गाउँपालिकासँग विशेष अनुरोध गरेको किसानहरुको भनाई छ । वर्षात रोकिएपश्चात अवरुद्ध सडक छिट्टै खोल्ने सम्बन्धीत वडा र गाउँपालिकाले आश्वस्त पारेकाले किसानहरु आशावादी बनेका छन् ।  किसानले उत्पादन गरेका कृषि उपज जतिसक्दो छिटो बजारीकरणका लागि सबैले सहयोग गर्नुपर्ने कृषि ज्ञान केन्द्र डोटीका प्रमूख नरेन्द्र पनेरुले बताए । यस वर्ष आलु उत्पादन राम्रै भए पनि खन्ने समयमा लगातार पानी परेकाले आलुमा केहि समस्या हुनसक्ने पनि उनले बताए । तोली गाउँका किसानहरु कृषि ज्ञान केन्द्रमार्फत लागु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत ब्लकका रुपमा तरकारी खेतीमा आवद्ध छन् । यसपूर्व पनि लामो समयदेखि सो क्षेत्रका किसानहरु तरकारी खेती गर्दै आएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा