‘बालबालिकालाई मनोसामाजिक समस्या हुन नदिन सिकाइको शैली परिवर्तन गरौँ’

news
news
June 27, 8:33

कोरोना महामारी सुरु भएपछि नेपालमा वैकल्पिक सिकाइको रुपमा अनलाइन माध्यमबाट पढाइ सञ्चालन हुन थाल्यो । कोरोना महामारी सुरु नहुँदाको समयमा समेत विश्वका केही देशहरुले ठूला कक्षाका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाइ सञ्चालन गरेका थिए । प्रभावकारी नै थियो । तर साना कक्षाका बालबालिकाका लागि भने अनलाइन माध्यमबाट, पढाइको प्रयोग, खासै हुन सकेको थिएन ।
कोरोना भाइरस सङ्क्रमणका कारण गएको वर्ष जस्तै यो  वर्ष पनि  सहरी क्षेत्रका धेरैजसो विद्यालयहरुले अनलाइन माध्यमबाट पढाइ सञ्चालन गरिरहेका छन् । तयारी बिना नै अनलाइन कक्षाहरु सञ्चालन गरिए । अभिभावक, शिक्षक र विद्यार्थी सुरुको अवस्थामा अन्योलमै थिए ।  तयारी विना नै  अनलाइन माध्यमबाट सिकाइलाई अगाडि   बढाउँदा केही समस्याहरु देखिएका हुन् । 
अभिभावकले सहजीकरण गरिदिने हो भने खासै समस्या आउँदैन । कोरोनाका कारण स्कुल बन्द भएर पठनपाठन ठप्प भएको अवस्थामा अनलाइन माध्यमबाट पढाउनु अहिलेको बाध्यात्मक परिस्थिती हो । विभिन्न प्राविधिक समस्याहरु उत्तिकै छन् । जसका कारण अभिभावक र बालबालिकामा मनोसामाजिक समस्या देखिने गरेको छ । आर्थिक रुपमा हामी त्यति सक्षम छैनौँ । ल्यापटप, मोबाइल, इन्टरनेट सबैको राम्रो पहुँच भएका बालबालिकामा खासै समस्या देखिँदैन । त्यस्तै घरायसी वातावरण पनि सहज हुनुपर्छ । 
आर्थिक र प्राविधिक रुपमा खासै समस्या नभएका र अभिभावकले सहजीकरण गरिदिएको अवस्थामा अनलाइन माध्यमबाट सिकाइलाई अगाडि बढाउँदा खासै समस्या हुँदैन । तर एउटै घरमा तीन, चार जना बालबालिकाले अनलाइन माध्यमबाट कक्षा लिनुपर्ने अवस्थामा भने समस्या आउन सक्छ । मानसिक रुपमा तनाव हुन सक्छ । अझ साना बालबालिकालाई  अभिभावकलेसँगै बसेर भिडियो अन, अफ, माइक म्युट, अनम्युट गरिदिनुपर्दा झनै समस्या हुन्छ  । र लामो समय अनलाइनमा बसेर पढ्दा बालबालिकामा मानसिक समस्याहरु देखिन सक्छन् ।  अनलाइन माध्यमबाट पढ्न थालेदेखि  बालबालिकाको स्वभावमा परिवर्तन आएको कतिपय अभिभावकहरु बताउँछन्।
कोरोनाको समय भन्दा अगाडि बालबालिकाहरु स्कुलमा साथीहरुसँग पढ्न पाउँथे । खेल्दै रमाउँथे ।  बालबालिका स्कुल पठाएपछि अभिभावकले पनि त्यति धेरै गाइड गरिरहनुपर्ने अवस्था हुँदैन थियो  ।  तर अहिले एकोहोरो तीन, चार घण्टा अनलाइन कक्षामा बस्नुपर्दा अभिभावक र बालबालिका दुवैमा मानसिक समस्या देखिने गरेको पाइएको छ । अघिल्लो वर्ष केही अभिभावकसँगको कुराकानीका क्रममा पनि समस्या देखिएको भनेर अभिभावकले भनेका थिए ।  
लामो समय ल्यापटप वा मोबाइलमा एकोहोरो हेर्दा आँखामा समस्या आउन सक्छ । तर अनलाइन कक्षा लिएकै कारण बालबालिकाको स्वास्थ्यमा त्यति ठूलो असर पारेको भने पाइँदैन । अनलाइन माध्यमबाट बालबालिकालाई पढाउँदा उनीहरुमा मानसिक समस्या नहोस् भन्नका लागि पढाइको शैली परिवर्तन गर्नु एकदमै आवश्यक हुन्छ । रमाइलो तरिकाले बालबालिकाको सिकाइ अगाडि बढाउनुपर्छ । 
कोरोनाका कारण घरबाहिर खेल्ने खेलहरु खेलाउन नसकिए पनि घरभित्रै खेल्न सकिने विभिन्न खेलहरु बालबालिकालाई खेलाएर बालबालिकालाई मानसिक समस्याबाट बचाउन सकिन्छ । बालबालिकाको व्यवहारमा परिर्वतन आएको छ कि भन्ने कुरामा अभिभावकले ध्यान दिनुपर्छ । दिक्क मान्ने, खानपानमा ध्यान नदिने, सानो कुरामा पनि रिसाउने, दुई वटा बच्चाहरु सँगै भएको बेलामा एक अर्कामा मिल्न नखोज्ने, रिसाएर कुरा गरेमा मानसिक समस्या भएको हुन सक्छ ।
व्यवहारहरु सामान्य मात्रै परिर्वतन भएको भए काउन्सिलिङ गरेर बालबालिकालाई पहिलाको अवस्थामा फर्काउन सकिन्छ । बालबालिकालाई समस्या नहोस् भन्नका लागि विद्यालयहरु आफैँले पनि केही समय  काउन्सिलिङको कक्षा सञ्चालन गर्नसक्छन् । बालबालिकामा ठूला खालको समस्या भएमा, गाह्रो भएमा मानसिक रोग विशेषज्ञहरुसँग परामर्श लिनुपर्छ ।  

(मानसिक रोग विषेशज्ञ डा. भरत गोइतसँग गरिएको कुराकानीमा आधारित) साभार ujyaaloonline

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा