वर्षा नहुँदा बिउ राख्न पाएनन् किसानले

1
1
July 09, 12:59

मोहन पनेरु डोटी, असार २३ - जिल्लाको दिपायल, पिपल्ला तथा आसपासको क्षेत्रमा लामो समयदेखि पर्याप्त मात्रामा वर्षा नहुँदा स्थानीय किसानका खेतहरू बाँझै रहेका छन् । अहिले सम्म पनि रोपाइँ नहुँदा यो वर्ष धान उत्पादनमा कमी हुने तथा किसानहरूलाई भोकमरी हुने चिन्ता बढेको छ । 
पर्याप्त वर्षा नहुँदा अधिकांश खेतमा धान रोपाइँ त परै जाओस् धानको बिउ समेत राख्न नसकिएको दिपायलका स्थानीय कलक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “असार सकिनलागि सक्यो,हामीले पानी नहुँदा बिउ समेत राख्न पाएका छैनौँ,कहिले पानी आउला र बिउ राखेर धान रोपौँला ।” जिल्लाका ग्रामीण क्षेत्रमा रोपिएको धान तथा लगाईको मकै बाली लामो खडेरीका कारण सुकेका छन् । बाली सुक्न थालेपछि किसानहरू निराश भएका छन् । आज असारको २३ गतेसम्म जिल्लामा जम्मा ३० प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख किसनसिंह थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सम्म कम्तीमा पनि ५० प्रतिशत रोपाइँ सकिनु पर्ने हो तर पानी नपर्दा रोपाइँ हुन सकेन,उत्पादन कमी हुने निश्चित छ ।” जिल्लाका शिखर नगरपालिका,दिपायल सिलगढी नगरपालिका,सायल गाउँपालिका,आदर्श गाउँपालिका लगायतका विभिन्न स्थानीय तहका अधिकांश वडाहरूका खेतमा रोपाइँ हुन सक्दा धेरै खेत बाँझै रहेको छ । 
कतिपय ठाउँमा रोपाइँका लागि तयार भइसकेको बिउ पनि पानी नहुँदा मर्न थालेको छ भने केही ठाउँमा किसानले जसोतसो गरेर धानको बिउसम्म राखेको शिखर नगरपालिका वडान १ का स्थानीय लोकबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “खोलाको पानीको भरमा धानको बिउ सम्म राख्न सकेका छौँ तर रोपाइँ कसरी गर्ने चिन्तामा परेका छौँ ।” कतिपय ठाउँमा भने अझै बीउ पनि नराखेको बताइएको छ । छिट फुट रूपमा जिल्लामा वर्षा भए पनि खोलामा भेल आउने गरी अझै पानी परेको छैन । डोटीको दिपायल सिलगढी नगर गाउँपालिका–४ गैराका ४५ वर्षीय वीर भान कामीले कुलोमा पानी नआउँदा बिउसमेत राख्न नसकेको दुखेसो पोख्नु भयो । उहाँले भन्नयो, “कहिले पानी आउला र बिउ राखौला भनेर बसेका छौँ,पानी नपरे बिउ नराखेरै खेत बाँझै पर्ने भए ।’’ उहाँले असार महिना बित्नै लाग्दासमेत पानी राम्रोसँग नपरेकाले यस पटक धान उत्पादन राम्रो नहुने निश्चित भएको उहाँको भनाई छ ।
 त्यसै गरी जिल्लाकै अर्को शिखर नगरपालिका–१ सेरीका ४१ वर्षीय कमल कामीले जसोतसो बिउ राखेपनि पर्याप्त पानी नहुँदा धान रोप्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जसोतसो धानको बिउ त राखेका छौँ,पानी नपर्दा रोपाइँ गर्न सकेका छैनौँ, उम्रिएको बिउ फल्न थालिसक्यो पानी पर्ने छाटकाट छैन ।” जिल्लाका अन्य स्थानियतहहरु बडीकेदार,बोगटान,जोरायल,सायल,पुर्विचौकी,आदर्श,केआईसिंह लगायतका गाउँपालिकामा रोपाइँ भए पनि पानी नपर्दा रोपाई गरिएको बिउ अर्थात् रोपो सुक्दै जानथालेको स्थानीयहरू बताउँछन् । 
उहाँले सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सम्पन्न भए पनि अन्य ठाउँमा भने हुन सकेको छैन । जिल्लामा सबैभन्दा बढी जमिनमा सिँचाइ कुलो नहुँदा आकासे खेतीको भरमा रोपाइँ गरिँदै आएको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार डोटीमा कुल १० हजार ६६५ हेक्टर क्षेत्रफलमा धान रोपाई गरिन्छ । सो कार्यालयको तथ्याङ्क अनुसार गएको वर्ष डोटीमा २२ हजार ४४४ मेट्रिक टन धान फलेको र जसले गर्दा जिल्लामा २।१४ टन प्रति हेक्टर धान उत्पादनमा वृद्धि भएको थियो । 

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा