भदौ दोस्रो हप्तादेखी त्रिभुवन बिश्वविद्यालयमा परीक्षा

TU
TU
July 20, 2:17

साउन,५,२०७७
काठमाडौं — त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । लकडाउन कायमै रहे पनि परीक्षा सञ्चालनका लागि १/२ दिनमै कार्यतालिका प्रकाशन गरिने त्रिविले जनाएको छ ।

सम्भव भएसम्म परम्परागत र नभए अन्य विधि प्रयोग गरेर पनि परीक्षा लिने त्रिविको तयारी छ । विज्ञहरुले पनि लकडाउनको कारण प्रभावित बनेका र नियमित हुनुपर्ने परीक्षा सञ्चालन गर्न त्रिविलाई सुझाव दिएका छन् ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आन्तरिक मूल्यांकन, सामाजिक दुरी कायम गरेर परम्परागत विधि, वैकिल्पक सामग्रीको प्रयोग र खुल्ला विधिबाट परीक्षा गर्न सकिने बताए । रेक्टर शिवलाल भुसालले सरकारले ल्याउने लकडाउनको ढाँचाअनुसार परीक्षा सञ्चालन गरिने जानकारी दिए ।

विश्वविद्यालय अनुदान आयोगले अनलाइनसहितका वैकल्पिक विधि प्रयोग गरेर पठनपाठनका साथसाथै परीक्षा सञ्चालन गर्न सुझाएको थियो । आयोगले कोरोना महामारीले उच्चशिक्षामा पुर्‍याएको क्षति न्यूनिकरणका लागि छाता निर्देशिका समेत जारी गरेको छ । चैतदेखि देशभरका विश्वविद्यालय र क्याम्पसमा शैक्षिक गतिविधि ठप्प छ । ११ वटै विश्वविद्यालयले अनलाइन माध्यमबाट अध्यापन थालेका छन् । महामारीका बेला शैक्षिक गतिविधिलाई निरन्तरता दिन उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणका लागि निर्देशिका जारी गरिएको आयोगका सदस्य सचिव देवराज अधिकारीले जानकारी दिए ।

निर्देशिकामा प्रचलित विधिबाट पनि परीक्षा सञ्चालन गर्न प्राथमिकता दिनुपर्ने उल्लेख छ । उक्त विधिबाट सम्भव नभए उच्च शैक्षिक संस्थामा नै परीक्षा केन्द्र (होम सेन्टर) तोकेर पनि परीक्षा सञ्चालन गर्न सकिनेछ । ‘शिक्षण संस्था बन्द भएपछि विद्यार्थी मेची, महाकाली पुगेका छन्, त्यहाँ पनि क्याम्पस छन् ।, उनले भने , ‘विश्वविद्यालयले आफ्नो अनुकुल त्यहाँ पनि परीक्षा सञ्चालन गर्न सक्छ ।’ परीक्षाको तयारी, परीक्षार्थीको आवासीय अवस्था, स्थानीय परिस्थितिको विश्लेषण गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्छ ।

समयसीमा तोकेर खुल्ला पुस्तक, गृहकार्य, कक्षाकार्य, प्रस्तुतीकरण, अनलाइन विधिबाट परीक्षा लिन सकिने निर्देशिकामा उल्लेख छ । विद्यार्थीले घरबाटै उत्तर लेख्ने विकल्प समेत दिन सकिने व्यवस्था गरिएको हो । वैकिल्पक प्रकृतिका परीक्षा सञ्चालन गर्दा विश्वविद्यायको आधिकारिक निकायको पूर्वस्वीकृति भने लिएको हुनुपर्नेछ । ‘परीक्षा सञ्चालन गर्न सम्भव नभएमा पछिल्लो सेमेष्टर वा वर्षको पठनपाठन सुचारु गरि परिस्थिति सहज भएपछि अघिल्लो सेमेष्टरको परीक्षा सञ्चालन गर्न सकिनेछ,’ निर्देशिकामा भनिएको छ । विद्यार्थीलाई पछि परीक्षा लिने गरि सेमेष्टर प्रणाली वा वर्षमा स्तरोन्नति गर्न सकिने बाटो खुलेको हो ।

प्रयोगात्मक विषयका लागि भर्चुअल र घरमा आधारित प्रयोगशालाको प्रयोगबाट पनि परीक्षा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको हो । स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी तहका मौखिक परीक्षाहरु अनलाइनबाटै सञ्चालन गर्न सकिने भएको छ । त्यस्ता परीक्षाको अभिलेख भने सुरक्षित राख्नुपर्नेछ । शोधग्रन्थ (थेसिस) बुझाउन म्याद गुज्रेका वा गुज्रने अवस्थामा रहेका विद्यार्थीका लागि ६ महिनाको अवधी सम्बन्धित विश्वविद्यालयले थप गर्न सक्ने व्यवस्था गरिएको हो ।

त्रिविले आयोगकै निर्देशिकाअनुसार विधि तोकेर परीक्षा सञ्चालन गर्न लागेको हो । रेक्टर भुसालको संयोजकत्वमा परीक्षा सुधार समिति गठन भएको छ । परीक्षा नियन्त्रक, डिनहरु संलग्‍न समितिले परीक्षा सञ्चालन सम्बन्धी सुझाव दिएको हो । समितिका एक सदस्यले घरमै रहेका विद्यार्थीलाई निश्चित समयमा उत्तर बुझाउने गरी खुल्ला परीक्षा सञ्चालन गर्ने, अनलाइनबाट परीक्षा लिने, प्रचलित मोडलअनुसार नै परीक्षा लिने र आन्तरिक मुल्याङ्कनलाई मान्यता दिने गरी सुझाव दिएको जनाए ।

भाषा परीक्षाको बाटो खुल्यो

कोभिड–१९ को संक्रमणका कारण रोकिएको आइएलटीएस, टोफिल लगायत भाषा परीक्षा सञ्चालन हुने भएको छ । परीक्षा सञ्चालनका लागि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले कार्यविधि जारी गरेको छ । परीक्षा हलमा २० जनासम्म परीक्षार्थी २ मिटरको दुरीमा राखेर परीक्षा सञ्चालनका गर्नुपर्नेछ । परीक्षा सञ्चालन गर्नुअघि कोठा, शौचालय, ढोकाको हण्डल, बिजुलीको स्वीचलाई सेनिटाइज गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । भाषा परीक्षा तथा अनलाइन प्रणालीबाट हुने परीक्षा पनि लकडाउनका कारण रोकिएको थियो ।

जनस्वास्थ्यका सुरक्षित मापदण्डहरु प्रयोग गरेर परीक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ । रोजगारी र अध्ययनका लागि बिदेश जान आइएलटीएस, टोफिल, पीटीई, जेएलपीटी, जीआरई लगायतका परीक्षा सञ्चालन हुने गर्छ । मन्त्रालयलाई पूर्ण जानकारी दिएर मात्र परीक्षा सञ्चालन गर्न उच्च शिक्षा महाशाखाले आग्रह गरेको छ । परीक्षा हलमा माक्स र पञ्चाको प्रयोग अनिवार्य रुपमा गर्न निर्देशन गरिएको छ । कार्यविधिमा ज्वरो आएका र रुघाखोकी लागेका परीक्षार्थीलाई परीक्षामा सहभागी गराउन नहुने उल्लेख छ । त्यसका लागि परीक्षा हलमा प्रवेश अघि नै ज्वरो मापन गरिनुपर्नेछ ।
यो खबर कान्तिपुर दैनिकमा सुदिप कैनीले लेख्नु भएको छ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा