केटीहरू किन रुख चढ्दैनन् ?

news
news
June 11, 8:35

– नवराज पराजुली

nabaraj

 

जनम् जनम् जिउँला सँगै
भाकेर वर पीपलु
यो तन दिएँ, यो मन दिएँ, तिमीलाई ए मायालु
छोएर वर पीपलु ‘ ।
त्यतिखेर हाम्रो गाउँमा जादुको बट्टा थियो । बट्टा यति जादुमय थियो कि त्यसभित्र अग्लोअग्लो वरपीपलको रुख पनि सजिलै अटाउँथ्यो । अनि त्यै वरपीपलको रुखमुनि श्रीकृष्ण श्रेष्ठ र पूजा चन्द टाइटानिक पोजमा लपक्क सुत्थे । उनीहरूले लगाएको लुगा श्यामश्वेत देखिन्थे । तर, उनीहरू प्रेमको रङ गाउँथेः
तिमी वर  पीपलु म, सधैँ दायाँबायाँ
छाहारी भै बस पीपल शीतल तिम्रै छाया
हो र ?
साक्षी छ है पीपलु र वर‘।
सानो हुँदा जुन गीतमा हिरो–हिरोनी नाँच्थे, त्यो गीत त्यै हिरो–हिरोनीले गाउँछन्जस्तो लाग्थ्यो । सानोमा गाउने, लेख्ने सबै ठूला काम हिरो–हिरोनीले नै गर्छन्जस्तो लाग्थ्यो ।
सानो हुँदा जतिसुकै ठूला कुरामा पनि विश्वास लाग्थ्यो ।
गायिका पूजा चन्दबाट मैले  थाहा पाएँ– केटा वर हो रै’छ । केटी पीपल रै’छे । अनि मैले मेरो स्कुलको चौर सम्झेँ । चौरमै वर र पीपल थिए । त्यो स्कुलमा म पढ्थेँ । अनि मेरी पीपल पनि पढ्थी । ऊ मभन्दा एक कक्षा कममा पढ्थी । उसलाई पनि भाकेर वर पीपलु भन्ने गीत औधी मन पर्थ्यो । (उनको नाम यहाँ नलेखौँ होला । त्यतिखेर तिमी मेरी पीपल हौ भनेर उसैलाई भनिनँ । आज यो निबन्ध पढेर उसले आफ्नो बालापनको वरलाई नचिनोस् । आफूबाट केही छुटेको कुरा, कसैले कि त समयमै थाहा पाओस्, कि त कहिल्यै थाहा नपाओस् ।)
आजसम्म पनि मैले स्कुल पढ्दाखेरिको एउटा कुरा बुझेको छैन । त्यतिखेर हाम्रै स्कुलको चौरमा वर र पीपलको जोडी थियो । वर र पीपल एकअर्कालाई खुब मन पराएर उभिएका थिए । तर, त्यै स्कुलमा कुनै केटाले कुनै केटीलाई मन परायो भने र त्यो कुरा सरहरूले थाहा पाए भने सरहरूले विद्यार्थीहरूलाई अपराधीलाई जसरी किन कुट्थे ?
मलाई हाम्रो स्कुलमा कुटाइ खाएका धेरै केटाकेटीहरू झलझली याद छ । झुट बोल्या हैन । साक्षी छ है पीपलु र वर ।
स्कुलहरूले प्रेमलाई अपनाउनु त परको कुरा, स्वीकार्नसम्म सकेनन् ।
गणित, विज्ञान, सामाजिक, अंग्रेजी के–के सिकाए । यिनै विषयमा कसरी पास हुने भन्ने मात्र सिकाए । प्रेममा दागी लागिरह्यो ।
तर, ठूलो भएपछि जब जिन्दगीमा गणित विज्ञान सामाजिक अंग्रेजी फेल हुन्छन्, तब जिन्दगी बचाउन त प्रेम चाहिँदोरहेछ त !
त्यो कुरो सर–मिसहरूलाई कसरी थाहा भएन ?
सर–मिसहरू त ठूला भैसकेका थिए, हैन र ?
झलझली सम्झिन्छु– हामी केटाहरू वरको रुखमा चढेको । म वरको रुखमा चढेको बेला हरेकचोटि त्यो गीत सम्झिन्थेँः
तिमी वर पीपलु म सधैँ दायाँ बायाँ‘।
गीतको नियमअनुसार त हामी केटाहरू वरको रुखमा चढेको बेला केटीहरू पीपलको रुखमा चढेको हुनुपर्थ्यो ।  मेरी पीपल पीपलको रुखमाथि हुनुपर्थ्यो । उसले मलाई वरको रुखको हाँगामा देख्नुपर्थ्यो । हावामा डोरी लगाउने हो भने हामी एउटै धर्कामा हुनुपर्थ्यो ।
उसले र मैले सँगै भुइँ छोडेको खुसीमा मेरो मुटु खुसीले खुब हल्लिनुपर्थ्यो । हामीसँगै उचाइमा पुगेको खुसीमा मेरो मन नाँच्नुपर्थ्यो । मेरो मनमुटु कसरी हल्लिरहेछ भनेर मैले उसलाई देखाउन नसक्नुपर्थ्यो । जसका लागि खुसीले मनमुटु हल्लिएको हो, त्यो उसलाई देखाउन नपाउनु दुःखको कुरा हो । त्यो दुःख ऊ चढेको पीपलको रुखका पातहरूले थाहा पाउनुपर्थ्यो । र, मेरो मनमुटुको साटो ऊ बसेको हाँगाका पातहरू हल्लिदिनुपर्थ्यो । ती पीपलका पातहरू नाँच्नुपर्थ्यो ।
तर, यो क्यै भएन । किनकि ऊ त भुइँमा थिई । तल । हामी चढेको वरको रुखको तल । अरु सबै केटीहरूजस्तै । फ्रक मिलाएर भुइँमा बसेकी । अनि गट्टी खेलिरहेकी । गट्टीमा उसले ढुङ्गामाथि फाल्दा उसको ढुङ्गा मभएको हाँगातिर आउँथ्यो । तर, थाकेर फ्यात्त भुइँमा झर्थ्यो ।
उसको घरमा पनि उसलाई रुख चढ्न दिएनन् । घरकाहरू डराएः बढ्दो उमेरकी छोरी रुख चढ्दा कस्तो देखिन्छ ? छोरी  रुखको उचाइमा भएको बेला कुनै पुरुषले तलबाट हेर्दियो भने ? छोरी उचाइमा पुग्दा सबै सधैँ डराउँछन् ।
उसका सपना तिनै ढुङ्गा पो थिए कि !
उसको ढुङ्गालाई गुरुत्वाकर्षणले भन्दा बढी अरु नै केहीले तल तानिरहेथ्यो ।
म रुखमाथिबाट उसलाई नराम्री देख्न सक्थेँ न राम्ररी देख्न सक्थेँ । म माथिबाट उसको अनुहार सप्पै देख्दिनथेँ । उसको जिउ सप्पै देख्दिनथेँ ।
भुइँको कुनै पनि कुरालाई माथिबाट अपूरो देखिन्छ ।
ऊ रूपमा मभन्दा राम्री थिई । सानो कक्षामा भए पनि उसको पढाइ मेरोभन्दा राम्रो थियो । मभन्दा राम्रो नाँच्थी । मभन्दा राम्रो गाउँथी । मसँग ऊभन्दा माथिल्लो स्तरको केही थिएन । तर म ऊभन्दा माथिको हाँगामा थिएँ ।
म प्यान्ट लगाएर हाँगामा हुन्थेँ ।
ऊ फ्रक लगाएर भुइँमा हुन्थी ।
म खुट्टा फैलाएर हल्लाइरहेको हुन्थेँ ।
ऊ खुट्टा खुम्च्याएर खेलिरहेकी हुन्थी ।
मैले उसलाई ’पीपलको रुखमा चढ’ भन्न सकिनँ । मै चढेको वरको रुखमाथि पनि बोलाउन सकिनँ । म पढाइमा पास हुनतिर लागेँ । ऊ पनि । सर–मिसहरू हाम्रो पढाइ देखेर मक्ख परे ।
त्यतिखेर स्कुलमा  हामीले सँगै भुइँ छोडेनौँ । सँगै एउटै उचाइमा पुगेनौँ । पछि पनि त्यही भयो ।
उसलाई के–केले थिच्यो । केही गह्रौँले थिच्यो ।
उसैले गट्टी खेलेका ढुङ्गाहरू पो झन् ठूला भए कि !
गह्रौँ ढुङ्गाले उसको जिउलाई नै थिच्यो कि !
उसको मनलाई नै थिचे कि !
उसले ढुङ्गा माथि फाल्नै सकिन कि !
ऐले सम्झिन्छु । मैले उसलाई वरको रुखमाथि बोलाएको भए !
ऊ म चढेको रुखमा आएकी भए, मसँगैको हाँगाबाट उसले जे देख्थी, त्यसले उसको जिन्दगी बदल्दिन सक्थ्यो ।

त्यो हाँगाबाट उसले आफूलाई पढाउने सर–मिसहरूलाई तल देख्थी । ’पढाइबाहेक अरु नाँचगानमा लागेर बिग्रेलिस् नि’ भनेर उसलाई धम्क्याउने केही सरहरू थिए । उसले माथिबाट तल उभिएका ती सरहरूको टोपीको माथिल्लो भाग नमिलेको देख्थी ।
र थाहा पाउँथी– बिग्रेको देख्नेले पनि पूरै देखेका छैनन् ।
’छोरी मान्छेका लागि कपाल भनेको इज्जतजस्तै हो । यो खुल्ला नछोड् ! दुईपट्टि बाँध्’ भनेर उसको कपाल निमोठ्ने केही मिसहरू थिए । उसले माथिबाट तल उभिएका ती मिसहरूको गर्धनको कपाल जति बाँध्दा पनि नबाँधिएको देख्थी ।
र, थाहा पाउँथी– केही कुरा खुल्ला हुँदा नै तिनको सुन्दरता खुल्छ ।
उसले उसको मार्कसिट बनाउने स्कुललाई पनि तल देख्थी । स्कुलको टाउकोका जस्तापाताका प्वालहरू देख्थी । र, थाहा पाउँथी– स्कुलको टाउकोको मार्कसिटमा पनि त कहीँकहीँ त शून्यहरू रै’छन् ।उसको चारित्रिक प्रमाणपत्र बनाउने गाउँका घरहरूलाई पनि तल देख्थी । र, उसले थाहा पाउँथी– एउटा घर त जम्मा एउटा घर मात्रै रै’छ । कत्ति अरु घरहरूलाई त त्यो एउटा घर भए÷नभएको थाहै रहेनछ । उनीहरूलाई त्यो घर भए पनि नभए पनि फरकै नपर्ने रहेछ ।
उसले रुखबाट बादल अलि नजिक देख्थी । आकाश अलि नजिक । घाम अलि नजिक । उसले थाहा पाउँथी कि घामले गट्टी खेल्ने भुइँलाई भन्दा पैले रुखलाई छुन्छ । घामको किरणले भुइँमा गट्टी खेल्नेलाई भन्दा पैले रुखमा हुनेलाई  छुन्छ । घामका बारेमा रुखमा चढेकाले पैले थाहा पाउँछन् । थाहा पाउनु भनेको वरदान पाउनु हो । प्रसाद पाउनु हो । पुग्नलाई आफ्नो बाटो पाउनु हो । बाटोमा आफ्नो ठाउँ पाउनु हो । मुख्य कुरा त पुग्ने ठाउँ छ भन्ने थाहा पाउनु हो । घरघरमा इन्टरनेट छ । केटाकेटी सबैको हातहातमा फोन छ । राम्राराम्रा रुखका फोटो खिचेर फेसबुकमा राख्ने केटीहरू मनग्ये देखिन्छन् । तर, तिनै केटी रुखमा ‘चढेको’ फोटो खासै देखिन्न । राम्राराम्रा पातहरू हातमा लिएर खिचेका फोटाहरू इन्स्टाग्राममा देखिन्छन् । तर, त्यै पात छुन रुखको उचाइमा पुगेकी केटीको फोटो खासै देखिन्न । 
मैले उसलाई वरको रुखमा चढ्न उक्साएको भए उसलाई हाँगामा हावाले छुट्टैगरी छुन्थ्यो । उसको कपाललाई छुट्टैगरी हल्लाउँथ्यो । उसको कपाल हल्लेको पातहरूले देख्थे । पातहरूले ’छोरी मान्छेका लागि कपाल भनेको इज्जतजस्तै हो । यो खुल्ला नछोड् ! दुईपट्टि बाँध्’ भन्दैनथे ।
हावाले छोएर स्वतन्त्र हल्लिनु भनेको के हो, पातहरूलाई थाहा छ ।
उसले उचाइमा बस्ने पातहरूलाई चिन्न पाउँथी । पातहरूबाट सिक्न पाउँथीः
पूरा बाँच्नु भनेको मन लागुञ्जेल अडिनु हो । मन लागेपछि झर्नु हो ।
पूरा बाँच्नु भनेको आफ्ना सबै रङ नडराई हेर्नु हो । नडराई देखाउनु हो । ढुक्कले ।
तर, मैले उसलाई ’तिमी रुखमा चढ’ भन्न सकिनँ । उसले रुखमा चढेर थाहा पाउने केही थाहा पाइन ।
उसको घरमा पनि उसलाई रुख चढ्न दिएनन् । घरकाहरू डराएः बढ्दो उमेरकी छोरी रुख चढ्दा कस्तो देखिन्छ ? छोरी  रुखको उचाइमा भएको बेला कुनै पुरुषले तलबाट हेर्दियो भने ? छोरी उचाइमा पुग्दा सबै सधैँ डराउँछन् ।
ऊ होचा फूलहरूमै रमाई । होचो तुलसाको मठमै अल्झिई । र, अब ऊ तुलसाको मठमा आउञ्जेलसम्म यस्तै भइरहनेछ ।
ऐले युट्युबमा त्यो गीत छः
जनम् जनम् जिउँला सँगै
भाकेर वर पीपलु
यो तन दिएँ, यो मन दिएँ, तिमीलाई ए मायालु
छोएर वर पीपलु ‘।
तर, ऐले श्रीकृष्ण श्रेष्ठ र पूजा चन्दले लगाएको लुगा रङ्गीन देखिन्छ । ऐले सबै केटाकेटीलाई थाहा छ, यो गीत श्रीकृष्ण श्रेष्ठ र पूजा चन्दले गाएका हैनन् । लेखेका पनि हैनन् । आनन्द कार्की र सुनिता सुब्बाले गाएका हुन् । लक्ष्मीनाथ शर्माले लेख्नुभएको हो । घरघरमा इन्टरनेट छ । केटाकेटी सबैको हातहातमा फोन छ । राम्राराम्रा रुखका फोटो खिचेर फेसबुकमा राख्ने केटीहरू मनग्ये देखिन्छन् । तर, तिनै केटी रुखमा ‘चढेको’ फोटो खासै देखिन्न । 
राम्राराम्रा पातहरू हातमा लिएर खिचेका फोटाहरू इन्स्टाग्राममा देखिन्छन् । तर, त्यै पात छुन रुखको उचाइमा पुगेकी केटीको फोटो खासै देखिन्न । आफ्नी प्रेमिकालाई लिएर जंगल जान मन पराउनेहरू धेरै देख्छु । त्यै जंगलको कुनै रुखमा केटी चढेर माथिबाट आफूलाई हेरोस् भन्ने केटा खासै देखिन्नन् । केटाहरूलाई डर छः रुखमाथिबाट जे देखिन्छ, त्यसले केटीहरूको हेर्ने तरिका बदल्दिन्छ । र, त्यसबाट केटाहरूलाई खतरा छ ।
यो संसारमा जे हो, त्यो सबै हेर्ने तरिका हो ।
यो कुरा केटाहरूलाई थाहा छ । थाहा पाउनु भनेको वरदान पाउनु हो । प्रसाद पाउनु हो । पुग्नलाई आफ्नो बाटो पाउनु हो । बाटोमा आफ्नो ठाउँ पाउनु हो । अझ मुख्य कुरा त पुग्ने ठाउँ छ भन्ने थाहा पाउनु हो । ऐले पनि मेरो स्कुलमा वर र पीपलको रुख छँदै छ । तर, ऐले पनि केटीहरू पीपलको रुखमा नचढ्दारहेछन् । अझै पनि वरमा चढ्ने कुनै केटाले आफ्नो साथीलाई वरको रुखमा सँगै चढाउने आँट गर्दैन रै’छ ।
एउटी केटीले अग्लो रुखबाट तल हेर्न पाई भने उसले जे देख्छे, त्यो देखेर उसले त्यसलाई त्यसै छोड्दिन । त्यो दृश्य हेरूँहेरूँ लाग्दो बनाइदिन्छे । आफूले देख्दा बिग्रिएकोलाई बनाएर देखाइदिन्छे ।
यो कुरा धेरै केटाहरूलाई थाहा छ । थाहा हुनु भनेको थाहा दिनु पनि त थियो । तर, त्यसो किन भएन होला ? उनीहरूलाई छुने हावाले केटीहरूलाई पनि छुँदा हावा सकिँदैन थियो त !
केटीहरूलाई रुख चढ्दा कसैले हातले थामिदिनु पनि पर्दैनथ्यो । केटीहरू आफैँ चढ्न सक्थे । उनीहरूका रुख चढिरहेका खुट्टालाई हातले नतानिदिए पुग्थ्यो । तर, त्यो किन भएन ?
आज पनि गाउँका कुनै कदमका रुखमा छोरीहरू खासै चढ्दैनन् । न आँपको रुखमा । न बकैनाको । न अम्बाको । आज पनि रुखका हाँगामा छोरीहरू भेटिँदैनन् । जब रुखका हाँगामा छोरीहरू भेटिन्छन्, जिउँदा भेटिँदैनन् ।

                                                                                                                                                                                    साभार ः शिला पत्र

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा