आज निर्जला एकादशीव्रत, तुलसीको दल राख्ने दिन 

news
news
June 21, 10:10

–नारायणप्रसाद निरौला–
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल आषाढ महिनाको ७ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जुन महिनाका २१ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठ शुक्लपक्षको एकादशी बिहान १०।८ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । स्वाती नक्षत्र दिवा २।१४ बजेसम्म रहनेछन् । यसैगरी आज शिव योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ५।१० मा छ भने सूर्यास्त बेलुका ७।१ बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा छन् ।
आज निर्जला एकादशीव्र तुलसीको दल राख्ने दिन हो । ज्येष्ठशुक्ल पक्षको एकादशीलाई निर्जला भनिन्छ । निर्जलाको शब्दको अर्थ जल अर्थात् पानी रहित भन्ने हुन्छ । यस दिन पानी पनि नपिई व्रत वस्नुपर्ने विधान गरिएको छ । यसैगरी निर्जला एकादशीका दिन तुलसीको दल राखिन्छ । हरिशयनी एकादशीको दिन तुलसीको विरुवा रोप्न तयार गर्नका निम्ति शुद्ध पवित्र स्थानमा तुलसीको दल राख्नु पर्दछ ।
वृषस्थे मिथुनस्थे वा शुक्ला ह्येकादशी भवेत् ।
ज्येष्ठमासे प्रयत्नेन सोपोष्या जलवर्जिता ।।१५।। (भविष्योत्तरपुराण, एकादशीमाहात्म्य, ज्येष्ठशुक्ल श्लो १५)
अर्थात् पानी नपिई व्रतबस्नुपर्ने एकादशी भएकाले निर्जला नाम रहन गएको हो ।
कथा
निर्जला एकादशीको व्रतकथा व्यास र महावलि भीमको सम्वादमा आधारित रहेको छ । व्यासजीले माता कन्ती लगायत पण्डडवलाई एकादशीको माहात्म्य वर्णन गर्ने क्रममा आफ्ना आमा कुन्ती एवं दाजुभाई युधिष्ठिर, अर्जुन, नकुल सहदेव द्रौपदीले सधैँ एकादशीको व्रत धारण गर्ने गरेको तर आफ्नो जठराग्निले भोक सहन गर्न नसक्ने भएकाले एकादशीको व्रत धारण गर्न नसकेको कुरा भीमले बताएपछि निर्जला एकादशीको माहात्म्य व्यासजीले उल्लेख गनूभएको छ ।
एकादश्यां निराहारान्नरः पापात् प्रमुच्यते ।
द्रव्यशुद्धिः कलौ नास्ति संस्कारः स्मार्त एव च ।। २४।।
अर्थात् एकादशीमा निराहार रहने मुनुष्य नै सबै प्रकारका पापबाट मुक्त हुन्छन् । कलियुगमा द्रव्यशुद्धिका साथै स्मार्त संस्कार पनि नरहने भएकाले एकादशीको व्रत धारण गर्नुपर्दछ । कलियुगमा एकादशीको व्रत नै उत्तम विधि हो ।
अन्य एकादशीमा फलादि खाएर उपासना गर्नुपर्छ । तर निर्जला एकादशीमा भने जल पनि लिनु हुँदैन –
एकादश्यां न भुञ्जीत पक्षयोरुभयोरपि । एकादश्यां सिते पक्षे ज्येष्ठस्योदकवर्जितम् ।।२६।।
तत् फलं समवाप्नोति तच्छृणुष्व वृकोदरः । सर्वतीर्थेषु यत् पुण्यं सर्वदानेषु यत् फलम् ।।२७।।
तत् फलं समवाप्नोति इमां कृत्वा वृकोदरः ।
संवत्सरेण यश्च स्युः शुक्लाः कृष्णा वृकोदरः ।।२८।।
सारा तीर्थमा स्नान गरेर जो फल प्राप्त हुन्छ त्यो फल निर्जला एकादशीको व्रत धारण गर्नाले प्राप्त हुन्छ । वर्षभरिको एकादशीमा गरिएको व्रतको फल यही ज्येष्ठ शूक्लपक्षको निर्जला एकादशीव्रतले प्राप्त हुन्छ । त्यसैले हे वृकोदर निर्जला एकादशीको व्रत गर्नुपर्दछ ।
अन्य एकादशीमा व्रत रहन नसके पनि निजृला एकादशीको व्रत धारण गर, जसले वर्षका समस्त एकादशिहरूको फल प्राप्त हुनेछ । निःसंदेह तिमी यस लोकमा सुख, यश र प्राप्तव्य प्राप्त गरी मोक्ष लाभ प्राप्त गर्नेछौ ।
यसपछि वृकोदर भीमसेन पनि यस एकादशीको विधिवत व्रत गर्र्न सहमत भए । यसैले वर्ष भरका एकादशीहरूको पुण्य लाभ दिने यस एकादशीलाई पाण्डव एकादशी या भीमसेनी एकादशी पनि भनिन्छ ।
व्रतविधान
यो व्रत नर नारी जो काकहीले पनि लिन सकिन्छ । व्रतमा सत्यवचन, अहिंसा, परोपकार एवं भगवत्सेवा अनिवार्य रहन्छ । मनलाई पवित्र बनाई गरिएको व्रत पूर्णतः फलदायी रहन्छ ।
व्रतरहनुभन्दा अघिल्लो दिनदेखि पवित्र रहनु पर्दछ । एकादशीका दिन प्रातः शौचस्नानदि कार्य गरी पूजा सामग्री सम्पादनपश्चात् व्रतको सङ्कलप गर्नुपर्दछ । सो पश्चात् दीप, कलश गणेशजीका साथै लक्ष्मीनारायण भगवान्को षोडशोपचारले पूजा गर्नुपर्दछ ।
सो पश्चात् दान गर्न भनिएको वस्तु दान गर्नुपर्दछ । भगवान्को नामसंकीर्तनका साथै सन्ध्यामा आरतीका साथै रातमा जाग्रम वस्नु पनि उत्तम मानिएको छ । यसैगरी द्वादशीका दिन प्रातः स्नान गरी संकल्पपूर्वक पूर्णपात्र दानका साथै ब्रह्मणभोजन गराई आफूले पनि भोजन गर्नुपर्दछ । यसरी गरिएको एकादशीव्र पूर्णतः फलदायी रहन्छ भनी एकादशी माहात्म्यमा बताइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा