विद्यालयमा दिइने खाजाले पारेको प्रभाव

news
news
December 17, 2:15

धनगढी,२ पुस । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्कास्थित नवज्योति आधारभूत विद्यालयमा ४४६ जना विद्यार्थी छन् । विद्यालयले उनीहरुलाई विद्यालयमै खाजा दिने गर्दछ । स्थानीय स्तरमै उत्पादित उपजको खाजा पेटभरि खान पाएपछि सो विद्यालयमा विद्यार्थी घटेका छैनन् । बरु, हरेक वर्ष विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दै गएको छ । 

‘दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई धेरै फाइदा भएको छ’, सो विद्यालयका प्रधानाध्यापक खगेन्द्र भण्डारीले भने । ‘विद्यालयमा खाजा दिन थालिएपछि विद्यार्थी अनियमित हुने वा कक्षा छोड्ने गरेका छन् । सङ्ख्या पनि बढेको छ ।’ 

नवज्योती मुक्त कमैयाँ बस्तीमा रहेको विद्यालय हो । सो आसपासमा बसोबास गरेका परिवार पनि विपन्न छन् । विपन्न बस्तीमा रहेको विद्यालयमा बढी विपन्न परिवारकै बालबच्चा पढिरहेका छन् ।

अभिभावकले ताजा, मिठो खाजा बनाएर दिन नसकेका परिवारका बालबालिकाले विद्यालयमा पेटभरि खाजा खान पाउँदा विद्यार्थीलाईमात्रै नभइ परिवारलाई पनि फाइदा भएको छ । विद्यार्थीले शरीरलाई आवश्यक पर्ने क्यालोरी आपूर्ति गर्ने खाजा पाएका छन् भने, अभिभावकलाई खाजाकै लागि आर्थिक भार खेप्नु परेको छ ।

‘विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम एकदमै राम्रो छ’, प्रधानाध्यापक भण्डारीले भने । ‘विपन्न परिवार र समुदायका विद्यार्थीका लागि त झनै फलदायी हुने नै भयो ।’ नवज्योति त एउटा उदाहरणमात्रै हो । कैलालीमा रहेको ५५५ वटा सरकारी विद्यालयहरुमा यसैगरी दिवा खाजा कार्यक्रम सञ्चालनमा रहेको छ ।

नेपाल सरकारले विगतवर्षबाटै मुलुकभरकै सरकारी विद्यालयमा यो कार्यक्रम लागू गर्दै आएको हो । दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई शारीरिक र मानसिक रुपमा फाइदा भएको छ ।भरपेट खाजा पाएपछि उनीहरु कुनै पनि तनाव नलिएर निशङ्कोच पढ्ने गरेका छन् । यसैगरी, शिक्षण सिकाइमा उनीहरुको ध्यान केन्द्रित हुने गरेको छ । यसले गर्दा विद्यार्थीको सिकाइमा सहयोग पुगेको छ ।

विद्यालयमा लागू भएको दिवा खाजा कार्यक्रमले शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पु¥याएको कैलारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्रले बताए । ‘भोक लागेको बेला विद्यार्थीलाईमात्रै नभइ कसैलाई पनि केही गर्न मन लाग्दैन । तर, पेट भरेपछि जे गर्न खोजिएको हो, त्यसमा ध्यान पनि केन्द्रित हुने गर्दछ’, उनले भने । ‘दिवा खाजा पाएका विद्यार्थी पनि पेट भरेपछि शिक्षण सिकाइका क्रियाकलापमा बढी ध्यान दिने गर्दछन् ।’ 

दिवा खाजा कार्यक्रमले घट्दै गएको सरकारी विद्यालयप्रतिको आकर्षण बढाइरहेको मिश्रको जिकिर छ । ‘खाजा पाउन थालेपछि आधारभूत तहमा विद्यार्थी सङ्ख्या बढ्दै गएको छ’, उनले थपे । ‘निजी विद्यालयबाटसमेत विद्यार्थी अब सरकारी विद्यालयमा आउन थालेका छन् ।’ 

विद्यार्थीलाई प्रशस्त मात्रामा क्यालोरी प्राप्त हुने गरी मानव सेवा विकास केन्द्रले खाजामा के–के खाना दिने भनेर निर्देशिका तयार पारेको छ । सो निर्देशिका अनुसार विद्यालयहरुले स्थानीयस्तरमै उत्पादन भएका वस्तुको नास्ता बनाएर विद्यार्थीलाई खुवाउने गरेका छन् । निर्देशिका अनुसार विद्यार्थीलाई जाउलो, गेडागुडी, हलुवा, अण्डा, पुरी तरकारी, रोटी जस्ता क्यालोरी पाइने खाजा खुवाउने गरिएको छ । यसले विद्यार्थीलाई ‘जङ्क फूड’ बाट पनि टाढा राख्न मद्दत गरेको छ । 

विद्यालयहरुले सकेसम्म स्थानीयस्तरमै पाइने उपजको खाजा खुवाउनु पर्ने निर्देशिका रहेको र सोही अनुसार नै विद्यालयहरुले खाजा खुवाउने गरेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले बताए । ‘यो खाजा कार्यक्रमका कारण विद्यार्थीलाई खाजा खानकै लागि घर जाने, आउने वा खाजा बोक्नु पर्ने समस्या भोग्नु परेको छैन’, उनले भने । ‘समग्रमा यसको प्रभाव धेरै राम्रो छ ।’ 

सुरुवातमा आधारभूत विद्यालयमामात्रै दिवा खाजा कार्यक्रम लागू गरिएको थियो । तर, पछि माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा पनि यो कार्यक्रम निरन्तर गरिएको छ । यद्यपि, खाजा भने बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका विद्यार्थीले मात्रै पाउने गरेका छन् । एक वर्षमा विद्यालय कम्तीमा १९० र बढीमा २१० दिन सञ्चालन हुनु पर्ने व्यवस्था छ । विद्यार्थीलाई विद्यालय खुलेका सबै दिन खाजा दिइदैन । तर, वर्षमा १८० दिन खाजा दिइनु पर्ने सरकारले व्यवस्था गरेको जनाइएको छ । 

खास गरेर शैक्षिक क्रियाकलाप कम हुने दिन विद्यार्थीलाई विद्यालयमा खाजा दिइदैन । शुक्रबार आधा दिनमै विद्यालय बिदा हुने गरेका कारण सो दिन विद्यार्थीलाई खाजा दिइदैन । तर, क्रियाकलाप बढी हुने अरु दिन विद्यालयमै खाजा दिइने गरेको शिक्षा शाखा प्रमुख मिश्र बताउँछन् ।

नेपाल सरकारको सशर्त अनुदान कार्यक्रमको रुपमा स्थानीय तहमार्फत दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेको छ । सरकारले खाजाका लागि एक विद्यार्थी बराबर प्रति दिनको १५ रुपैयाँको दरले स्थानीय तहमा एकमुष्ट बजेट पठाउने गरेको छ । सो बजेट विद्यालयहरुलाई दुई किस्तामा उपलब्ध गराउने गरेको स्थानीय तहले जनाएका छन् । 

‘बजेट नगएसम्म कतिपय स्थानीय तहले आफ्नै आन्तरिक पैसाले विद्यार्थीलाई खाजा खुवाउने गरेका छन्’, मिश्रले भने । ‘तर, सकेसम्म पहिलो किस्ता बेलैमा पठाउने गरिएको छ।’श्रीलंकाको नवज्योति विद्यालयका विद्यार्थीलाई खाजा खुवाइँदै ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा