अछाममा किशोर मृत्यु प्रकरण : तालिमप्राप्त कुकुरसहित सीआईबी टोली खटियो

June 05, 9:02

धनगढी २२ जेठ /  अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित डीएसपीको नेतृत्वमा सीआईबीको टोली परिचालन गरिएको छ ।

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको ६ सदस्यीय टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मोहनकुमार आचार्यले अनलाइनखबरलाई जानकारी दिए । उनकाअनुसार शनिबार साँझ अछामतर्फ गएको सीआईबीको टोली घटनास्थल पुगेर आइतबारबाट काम थाल्नेछ । उक्त टोलीमा नेपाल प्रहरीको सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी) का सदस्यहरु समेत छन् ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले धनगढीबाट खटाइएको सीआईबीको टोली केहीबेरमा घटनास्थलमा पुग्ने जानकारी प्राप्त भएको बताए । शाहीको शव भेटिएपछि आक्रोशित स्थानीयले पनि सीआईबीको टोलीलाई अनुसन्धानमा सघाउने भएका छन् ।

प्रमुख जिल्ला अधिकारी मरासिनीले अनुसन्धानका लागि सीआईबीको टोली तालिम प्राप्त कुकुरसहित खटिएपछि आन्दोलित भएका स्थानीयले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी दिए । घटनाको अनुसन्धानका लागि सीआईबीका अतिरिक्त छिमेकी बाजुरा र डोटीबाट समेत प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जेठ १७ गतेदेखि बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाही शनिबार घर नजिकै मृत अवस्थामा फेला परेका थिए । उनी मृत भेटिएपछि प्रशासनविरुद्ध स्थानीय प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गर्नुपरेको थियो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनकाअनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । शाही नेकपा एमाले समर्थक परिवारको सदस्य भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा