छत्तिस हजारमै जापान उड्न पाइने

Nepal-airlines
Nepal-airlines
July 29, 10:32

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ-ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो । उक्त गन्तव्यमा दुईतर्फी भाडा ७२ हजार ८१४ कायम गरिएको छ । निगमको यो प्रवद्र्धनात्मक भाडा हो । दशैँअघि पुनःअर्को भाडादर निर्धारण गरिने जनाइएको छ ।
    
निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने योजना बनाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । 

निगमले वाइडबडी ए–३३० जहाजमार्फत ओसाका उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । निगमको उडान तालिकाअनुरुप एनए ४११ उडान नम्बरको जहाज काठमाडौँबाट ओसाका दिउँसो २:३० बजे उडेर ओसाकाबाट राति ११:५५ बजे काठमाडौँ अवतरण गर्नेछ ।   
    
वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो । गत असार र साउन महीनामा निगमले खरीद गरेका दुई वाइडबडी जहाजले पुरानै छोटो दूरीको गन्तव्यमा पालैपालो उडान भर्दै आएका थिए । निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो । निगमले चीन, जापान, कोरिया र साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार वाइडबडी जहाज भित्र्याएको थियो  । 
    
निगमले एकदशकअघि जापान उडान बन्द गरेको थियो । चीनको साङ्घाइबाट ओसाकाको कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो ।     
    
नेपाल-जापानबीचको द्विपक्षीय हवाई सम्झौताअनुसार निगमले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछन् । विसं २०७५ पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल भ्रमणमा आएका बेला हप्तामा १४ उडान भर्ने गरी काठमाडौँ-नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई पत्राचार गरेको थियो । 
    
जापानकै अर्को मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थमा उडान गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।    
    
निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेशिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए–३३० जहाज, दुई न्यारो बडी ए-३२० जहाज छन् । -रासस

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा