उनले मानवीयतालाई मुनाफा भन्दा कयौँ माथि देखिन्, र जन्मियो ‘माइतीघर’ जस्तै आइसोलेसन
महेन्द्र बम,
धनगढी, भदौ १३ -
मानवीयता ठुलो की मुनाफा ठुलो ? भनेर जो कोहीलाई पनि प्रश्न गर्दा प्रायःको मुखबाट सजिलै आउने जवाफ मानवीयता हुन्छ । तर के जसरी मानवीयता शब्द उच्चारण गर्न सजिलो छ व्यवहारमा देखाउन पनि त्यति सजिलो छ ? पक्कै पनि छैन । अझ अहिले त देखावटी मानवीयताको ढुङ्ग्रो बोक्नेहरूले दार्चुला र मुगुसम्म पैदल हिँडेर कयौँ गरिबको ज्यान जोगाउने डा. गोविन्द केसीलाई गाली गर्छन्, कोरोनाको प्रवाह नगरी अरूको ज्यान जोगाउन तलमनि चिकित्सकहरूलाई आफ्नो टोलमा राख्न पाइँदैन भनेर चर्का नारा पनि लगाउँछन् ।
तर हीराको कथा भने अलि बेग्लै छ ।
देशमा अधिकांशले
राजनीतिलाई पेसा
अधिकारकर्मीका नाममा बेथिति
र समाज सेवालाई कमाइ खाने भाँडो बनाएपछि
हीरा भण्डारी यी तीन मध्य कुनै पनि ओहदामा राखेर मान्छेले आफूलाई सम्बोधन नगरिदिए हुन्थ्यो भनेर सम्झन्छिन् । मानिस आशावादी हुनुपर्छ भन्ने सिद्धान्त सर्वस्वीकार्य हो । तर निराशाहरू मात्रै देखिने समाजमा आफूले गरेका कामहरू देखाए जस्ता मात्र लाग्लान् की भन्ने डरले उनी आफ्ना काम अरूलाई बताउन पनि रुचाउँदिनन् । ती कामहरूको लेखाजोखा पनि राख्दिनन् ।
‘हीरा भण्डारी’ धेरै मान्छेका लागि यो नाम नौलो हो । केही पात्रले भने यो नामलाई भगवानको दर्जामा पनि राखेका छन् । त्यसमध्येकी एउटा पात्र हुन्, शान्ति भट्ट । परिवार र श्रीमानले घर निकाला गरेपछि ५ वर्ष अघि धनगढीका सडकमा सहारा खोज्न हिँडेकी २ सन्तानकी आमा शान्तिले न्यायालयसम्म पुगेर पनि अन्यायबाट मोचन पाइनन् ।
अन्ततः उनले भण्डारीलाई भेटाइन्, र भण्डारीले उनलाई दुई वर्षसम्म आश्रय दिइन् । दुई सन्तानकी आमा कसरी आत्मनिर्भर बन्न सक्लिन् भन्ने उपायको खोजीमा भण्डारीले उनलाई दुई वर्ष आफ्नै घरमा राखिन् र आफ्नै इन्स्टिच्युटमा सीप सिकाइन् । अहिले पुर्ख्यौली थलो डोटीमा गएर शान्तिले शान्तसँग बस्न पाएकी मात्र छैनन्, सिलाइकटाइको पसल सञ्चालन गरेर अरूका लागि प्रेरणाको पात्र बनेकी छन् । डोटीको के आइ सिंह गाउँपालिका वडा नम्बर ५ भुमिराजमाण्डौंमा पसल सञ्चालन गरेर उनले आफू जस्तै अरू तीन जनालाई पनि सिलाइकटाइको निःशुल्क सीप सिकाइसकिन् ।
कैलालीमै जन्मेहुर्केकी उनी पहाडको जीवनशैलीसँग धेरै परिचित थिइनन् । ‘तर जब उहाँले आश्रय दिएर सीप सिकाउनु भयो । अब आफ्नै केही गर्नुपर्छ भन्ने प्रेरणा पनि उहाँबाटै पाएँ ।’ उनले भनिन्, ‘सुरुसुरुमा पहाडमा हिँड्न पनि सक्थेन तर अहिले दैनिक एक घण्टा हिँडेर फन्नी र सलेनाको डोडर पुग्छु ।’ उनको बसाई मुख्यमन्त्री त्रिलोचन भट्टको गाउँ भएको ठाउँ फन्नी छ भने पसल त्यहाँबाट झन्डै आधा घण्टाको पैदल दुरी सलेनाको डोडरमा छ ।
भट्ट त एक प्रतिनिधि पात्र मात्र हुन् । यस्ता थुप्रै बेसहारा बनेका पात्रकी सहारा बनेकी भण्डारी बाजुराकी ज्ञानु जोशीका लागि पनि सहाराको एक खम्बा बनेकी छन् । ज्ञानु अहिले भण्डारीले सञ्चालन गर्दै आएको बि(विद्या) पोलिटेक्निक इन्स्टिच्युटमा बस्दै आएकी छन् ।
व्यक्तिगत रूपमा समस्यामा वा पारिवारिक हिंसामा परेका महिलाहरूका लागि मात्र होइन, भण्डारीले अहिले कैलालीको धनगढीमा एक नमुना महिला आइसोलेसन सञ्चालनको अगुवाइ समेत गरेकी छन् । जहाँ उनले गत चैत्र २१ गतेबाट असारसम्म तीन महिनामा तीन सय भन्दा बढी भारतबाट आउने महिलाहरूलाई निःशुल्क खाना बस्नको व्यवस्था मिलाइन । त्यसपछि अहिले त्यहाँ २४ जना कोरोना सङ्क्रमित महिलाहरू कोरोना विरुद्धको लडाइमा आइसोलेसनमा बसिरहेका छन् । साउन यता उक्त महिला आइसोलेसनबाट २ गर्भवतीसहित १४ जनाले कोरोना जितेर घर फर्किसके ।
उक्त आइसोलेसनमा अहिले बस्दै आएका हुन् वा कोरोना जितेर घर फर्किसहेकाहरू हुन्, जो कोहीलाई पनि सोध्ने हो भने उक्त आइसोलेसन आइसोलेसन मात्रै नभएर माइती घर जस्तै भएको प्रतिक्रिया दिन्छन् ।
+++
कस्तो लाग्यो आइसोलेसनको बसाई ? खुसी मुद्रामा कोरोना जितेर घर फर्किँदै गरेकी कैलालीकी धनमाया लुहारलाई सोध्दा, उनले भनिन, ‘निकै राम्रो लाग्यो ।’ उनले अगाडी थपिन्, ‘चाडबाडमा माइतीघर गएर बसेजस्तै महसुस गरेँ मैले त यहाँ बसेर । यति सुरक्षित र हेरचाह त माइतीघरमा मात्रै महसुस गर्न पाइन्छ ।’
काखमा पुतली जस्तै छोरीलाई च्यापेर धनमायासँगै घर फर्किन थालेकी रञ्जिताको जवाफ पनि उस्तै थियो । ‘पहिलो पटक कोरोना सङ्क्रमित बनेर यहाँ आउनुप¥यो, अब स्वस्थ भएर घर गइसकेपछि पनि यो ठाउँसँगको नाता अजम्बरी रहिरहोस् भन्ने चाहना छ ।’ उनले भनिन् ।
कसरी जन्मियो त ? माइती घर जस्तो आइसोलेसन ?
+++
सरकारले चैत्र ११ गतेबाट देश लक डाउन ग¥यो । सँगसँगै सीमा नाका र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पनि ठप्प । अनि हजारौँ नागरिकहरू केही समयका लागि स्वदेश फर्किन पाउने अधिकारबाट वञ्चित भए र सीमावर्ती क्षेत्रमा अलपत्र परे । सिमानाकाबाट भित्रिने नागरिकहरूको बिचल्ली देख्दा हिरा भण्डारीलाई मानवीयताका अघि मुनाफा फिक्का बन्यो ।
बैतडीमा जन्मेर डोटीमा बाल्यकाल बिताउँदा होस् वा डडेलधुराको १२ वर्षीय जागिरे जीवनमा होस्, उनी सामाजिक रूपमा महिलाहरूले पाउने स्थान र खेप्नुपर्ने सास्ती, भोग्नुपर्ने हिंसासँग राम्ररी परिचित छिन् । उनी भन्छिन्, ‘पुरुषको तुलनामा महिलाहरूलाई विशेष खालको खाना, सरसफाइ, सुरक्षा चाहिन्छ ।’
डडेल्धुरामा विश्व खाद्य कार्यक्रममा काम गर्दाताका उनले राम्ररी बुझेकी थिइन्, एउटा किशोरी रजस्वला हुँदा विद्याको मन्दिर जस्तो ठाउँमा त उसले कति असहजतासँग लड्नुपर्छ भनेर । ‘अनि भारतबाट एकै दिनमा एउटै नाकाबाट ६ हजार मासिनको भीडमा आउने महिलाहरूको अवस्था कस्तो हुन्थ्यो होला ?’ उनी प्रश्न गर्छिन् ।
त्यसपछि उनले त्यसमध्येका केही महिलाहरूलाई भए पनि सहजता प्रदान गर्नुपर्छ भनेर १२ कट्ठा जमिन भाडामा लिएर २०६८ सालबाट झन्डै डेढ करोड लोनमा सञ्चालन गर्दै आएको बि पोलिटेक्निक इन्स्टिच्युटलाई महिला होल्डिङ सेन्टर र क्वारेन्टिन बनाउने घोषण गरिन् ।
तीन वटा तालिम हल समेतमा गरेर १ सय १० जनासम्म अट्नसक्ने भौतिक संरचना रहेको बि पोलिटेक्निक इन्स्टिच्युटमा चैत्र २१ देखि असारसम्म ३ सय हाराहारीमा महिलाहरू बसेर घर फर्किए । त्यो समयमा उनले आर्थिक र अरू व्यवस्थापन व्यक्तिगत तर्फबाटै बेहोरिन् ।
तत्पश्चात् भारतबाट आउनेहरूको भीड केही मात्रामा कम भइसकेको थियो ।
तर स्वदेशको ढोका खुल्ला भनेर कुरी रहेकी बझाङकी पूजा नेपालीले भारत तर्फको नेपाली सीमावर्ती क्षेत्र बलदेव वैदिक इन्टर कलेज पलिया खिरीको एउटा कोटामा बच्चा जन्माउँदा खेप्नुपरेको पीडा, क्वारेन्टिनमै मध्य राती कैलालीकी एक महिलाले यौन पिपासुबाट भोग्नुपरेको हिंसाले आफ्नो इन्स्टिच्युट यस्तै जोखिम मोलिरहेका सयौँ महिलाहरूको सहारा घर बनिरहनुपर्छ भन्ने लाग्यो ।
त्यसपछि उनले फेरी त्यसलाई महिला आइसोलेसन बनाउने घोषण गरिन् ।
उनको उक्त कदममा अहिले भने धनगढी उपमहानगरपालिकासहित विभिन्न दातृ निकायको सहयोग छ । ‘जिल्ला प्रहरी कार्यालयबाट छ जना सुरक्षाकर्मी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीबाट दुई नर्स, विभिन्न दातृ निकायबाट बालबालिकाका लागि आवश्यक पर्ने खेलौना, महिलाका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्रीलगायत खाद्यान्न र अरू सहयोग गर्ने मनकारीहरूको सहकार्यले अहिले एक्लै खर्च धान्नुपर्ने अवस्था छैन ।’ उनले भनिन् ।
केही समय पहिले सहारा खोज्न हिँडेकी ज्ञानु जोशीले अहिले सीप सिकेर उक्त आइसोलेसनको बाहिरी व्यवस्थापन समेत हेर्ने गरे पछि अब उनले पटक–पटक आइसोलेसन सेन्टरमा पनि पुगिरहनु पर्दैन । तर कोरोना भाइरसलाई आत्मबलले नै परास्त गर्न सकिन्छ भन्ने लागेर उनी महिलाहरूको आत्मबलका लागि त्यहाँ पुगिरहन्छिन् ।
आफ्नै स्वेच्छाले क्वारेन्टिन बनाउने घोषणा गरेकी उनलाई अहिले आइसोलेसन बनाउन धनगढी उपमहानगरपालिका, युएनडिपी, पत्रकार दीपक उपाध्याय लगायतले सकारात्मक सहयोग र प्रेरणा प्रदान गरेको उनको भनाई छ ।
उक्त आइसोलेसनमा अहिले आमा–छोरी गरेर दुई जना डोटीका र अरू २२ जना कैलालीका छन् । उनीहरूले माइतीघरमा गएर मनाए जसरी तीज त्यही मनाए र दसैँ दीपावली जस्तै गरी मनाइने सुदूरपश्चिमको गौरा पर्व पनि त्यही मनाए । डोटीको बुडरकी रमा बिष्ट(नाम परिवर्तित)ले दिदीबहिनीहरूको ऊर्जा, हौसला र आइसोलेसनको व्यवस्थापनले कोरोनालाई छिट्टै परास्त गरेर घर फर्किन पाइने छ भन्ने मनस्थिति बनाएको बताइन् ।