बैतडीमा जीर्ण भवनबाट प्रहरीको शान्ति सुरक्षा

October 07, 2:03

बैतडी। बैतडी जिल्लामा रहेका ३२ वटा प्रहरी कार्यालय (युनिट) मध्ये २७ वटाको आफ्नै भवन नहुँदा भाडाको जीर्ण भवनबाट प्रहरी कर्मचारी अहोरात्र नागरिकको शान्तिसुरक्षामा खटिन बाध्य छन् । 

प्रहरीले भाडामा लिएका भवनमध्ये १४ वटाको अवस्था जीर्ण रहेको छ । भूकम्पले बेला बेलामा कार्यालय भवन हल्लाइरहँदा प्रहरी कर्मचारी त्रसित बन्ने गरेका छन् । हिउँदमा चिसो र बर्खामा पानी चुहिने समस्या त सामान्य जस्तै छ । 

स्थानीय सरकार गठन भएसँगै नागरिकको शान्तिसुरक्षा तथा अपराध नियन्त्रणका नाममा प्रहरी कार्यालय (चौकी) माग गर्नेको चाप बढ्दो छ । सोही माग अनुसार बैतडीका विभिन्न पाँच ठाउँमा अस्थायी प्रहरी चौकीसमेत खडा गरिएका छन् । 

पुर्चौडी नगरपालिकाको न्वादेउ र भटनामा दुई वर्षअघि खुसियाली मनाएर उद्घाटन गरिएको अस्थायी प्रहरी चौकीको जीर्ण भवन भूकम्पले हल्लाइदिँदा नागरिकलाई शान्तिसुरक्षा दिने प्रहरी कर्मचारी नै त्रसित बनेर बस्न बाध्य छन् । 

अस्थायी प्रहरी चौकी स्थापना हुँदा स्थानीय जनप्रतिनिधिले खुसियाली नै मनाएका थिए तर प्रहरीका लागि भवन निर्माण गर्न सहयोग जुटाउन नसकेको भनाइ स्थानीयको छ । सिगास, पञ्चेश्वर, शिवनाथ र डिलासैनी गाउँपालिका केन्द्रमा पनि अस्थायी प्रहरी कार्यालय स्थापना भएका छन् ।  

शान्तिसुरक्षाका लागि स्थानीय सरकारलाई प्रहरी चाहिने भए पनि बस्ने घर असुरक्षित हुँदा समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । ज्यानको माया मारेर नागरिक सेवामा प्रहरी दौडिनुपर्ने अवस्था छ उहाँले भन्नुभयो,  “चौकीसँग सवारीसाधनसमेत नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ । 

अधिकांश अस्थायी प्रहरी चौकीमा राम्रोसँग सुत्नलाई कोठा नहुँदा सेवाग्राहीको अपेक्षा अनुसार प्रहरीले सेवा दिन नसकेको गुनासो स्थानीयको छ । जिल्ला प्रहरी कार्यालय मातहत २४ स्थायी प्रहरी चौकी, पाँच अस्थायी, एक इलाका प्रहरी कार्यालय र एक सीमा प्रहरी चौकी गरी ३२ वटा युनिट रहेका छन् । 

दुई लाख ४४ हजार चार सय जनसङ्ख्या रहेको यस जिल्लाको पश्चिमी भूभागले भारतको उत्तराखण्ड राज्यको पिथौरागढ र चप्पावत जिल्लाको सीमालाई छोएको छ । नेपालतर्फ पूर्वमा डोटी र बझाङ, उत्तरमा दार्चुला र दक्षिणमा डडेलधुरा जिल्ला छ । 

पश्चिमी सीमानाका झुलाघाटबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिकसँगै भारतीय नागरिकको समेत आवागमन हुने गरेको छ । सुरक्षाका दृष्टिकोणले भने यस जिल्लामा प्रहरीको सक्रियता बढी नै आवश्यक देखिन्छ । 

जनसङ्ख्याको चाप र भूगोल अनुसार मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिकामा रहेको प्रहरी चौकी ‘क’ श्रेणीमा राख्नुपर्ने माग भए पनि भवन निर्माणको योजना र प्रहरी चौकीको स्तरवृद्धि हुन सकेको छैन ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा