रामारोशनमा बढे पर्यटक

October 11, 3:19

अछाम  । रामारोशन अछामको मात्रै नभई सुदूरपश्चिमकै पर्यटकीय तथा धार्मिक क्षेत्र हो । रामारोशनलाई रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट नाम रामारोशन रहेको किम्बदन्ती रहीआएको छ । एकथरीले यो क्षेत्रमा शिव-पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँदै आएका छन् ।  

रामारोशन गाउँपालिका-६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ । बाह्र बण्ड भनेको यहाँका १२ ताललाई जनाउँछ भने अठार खण्ड भनेको यहाँ रहेका १८ वटा चौरलाई जनाउँछ । पर्यटकीय क्षेत्र रामारोशनको सुन्दरताको वर्णन गरी नसक्नु छ । 

रामारोशन पर्यटकीय क्षेत्रमा दर्जनौं समथर फाँट, ढपक्कै धर्ती ढाकेर फुल्ने फूलहरुले मन लोभ्याउँछ । हरियो पाटनमाथि सेताम्मे डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल देख्न सकिन्छ । हरियाली फाँट, त्यसमाथि फुलेका रङ्गीबिरङ्गी फूलहरू निकै मोहक र आकर्षक देखिन्छन् ।

समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार सात सय ९२ मिटर उचाइमा रहेको रामारोशन प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा १२ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे तथा जडीबुटीले भरिपूर्ण ठाउँ हो । रामारोशनमा सुनिवन, गेराहा जिंगले, बाटुल्ला, लामादह, लिप्सेडाली, तल्लो धौने, माथिल्लो धौने, गाग्रे ,रामे, ताउलो, डउटे, दल्लेना गरी १२ ताल र बाउलेगडा, रामे, चाका चक्रपथ, रोशनजस्ता १८ पाटन छन् । 

वर्षौदेखि पर्यटकको पर्खाइमा रहेको रामारोशन यस पटक भने चर्चामा आएको छ । करिब ६८ देशका नागरिक सामाजिक सञ्जालमार्फत जोडिएको ‘रेन्बो फेमली’ नामको समूहले अछामको रामारोशनमा कार्यक्रम गर्न आएपछि रामारोशनको चर्चा झनै चुलिएको छ । अहिले रेन्बो फेमली नामको समूह अछामको रामारोशनमा रमाइरहेको छ । 

पर्यटकहरुको आगमन बढेसँगै यस क्षेत्रका जनता खुशी बनेका छन् । दिनानुदिन पर्यटक आउन थालेपछि यस क्षेत्रमा किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुले मुल्य पाएको स्थानीय दलबहादुर साउदले बताउनुभयो । रामारोशन पुग्दा हरेकलाई अलौकिक आनन्द आउने आन्तरिक पर्यटक टेकबहादुर थापाले बताउनुभयो । 

रामारोशन जानलाई सडक मार्गको पहुँच भए पनी वर्षाको समयमा लेक भएकाले बाटो अप्ठेरो हुने गरेको र पर्यटक पनि कम आउने बोट चालक टेकेन्द्र रोकायाको भनाइ छ । रामारोशन घुम्न आएका विभिन्न देशका नागरिकलाई रामारोशन गाउँपालिकाले स्वागतसहित पर्यटकीय स्थलमा पठाउने गरेको छ । 

विदेशी पर्यटकको आगमनले रामारोशनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुगेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले रामारोशन पर्यटन विकास समिति बनाएको छ । 

समितिले रामारोशन क्षेत्रमा पर्यटक भित्र्याउन रामारोशन क्षेत्रको संरक्षण गरिरहेको समितिका निर्देशक गङ्गाकुमारी कुँवरले बताउनुभयो । रामारोशनमा यस पटक विभिन्न देशका आठ सय ९७ पर्यटक आएका र त्यसमध्ये एक ७२ जना रामारोशनको अवलोकन गरेर फर्किसकेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले बताउनुभयो । रासस

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा