पञ्चेश्वर सडकमा कमसल सामग्रीको प्रयोग

October 17, 1:52

बैतडी। बहुप्रतिक्षित पाटन–पञ्चेश्वर सडकखण्डको मेलौलीदेखि पञ्चेश्वर जोड्ने २५ किलोमिटर सडकखण्डमा कमसल निर्माण सामग्रीको प्रयोग भएको पाइएको छ । तल्लोस्वराड क्षेत्रका तीन वटा स्थानीय तह जोड्न मेलौली नगरपालिकाको काँडाबजारदेखि शिवनाथ गाउँपालिका हुँदै पञ्चेश्वर गाउँपालिकासम्मको उक्त सडक कालोपत्रे गर्न ४१ करोड रुपियाँको ठेक्का लागेको हो । 

पूर्वाधार विकास कार्यालय बैतडीबाट आर्थिक वर्ष २०७६/७७ मा ठेक्का आह्वान भई कनकाइ कन्स्ट्रक्सनले सडक निर्माण तथा कालोपत्रे कामको जिम्म्मा लिएको हो । गत वर्ष नै सडक कालोपत्रे र पर्खाल लगाउने काम सम्पन्न भइसक्नुपर्नेमा अझै पूरा हुन सकेको छैन । 

करिब १५ करोड रुपियाँ भुक्तानी लिएर पनि मुख्य ठेकेदारले अर्को पेटी ठेकेदारलाई योजना नै बिक्री गरिदिएपछि निर्माण कार्यमा ढिलाइ हुनुका साथै सडकमा कमसल सामग्रीको प्रयोग भएको पूर्वाधार विकास कार्यालयले जनाएको हो । उक्त सडक निर्माणको काम हाल पेटी ठेकेदारबाट भइरहेको छ, पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जङ्गबहादुर थापाले पेटी ठेकेदारले काम गरिरहेको बताउनुभयो । सडक कालोपत्रे गर्न ल्याएको सामग्री परीक्षण गर्दा कमसल देखिएपछि गत वर्ष मुख्य ठेकेदारलाई सचेत गराएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार ठेकेदारले कालोपत्रे गर्न ल्याएको गिट्टी कमसल खालको भएकाले गत वर्ष नै हटाउन लगाइएको थियो । पूर्वाधार विकास कार्यालयमा पर्याप्त जनशक्ति नभएकाले सुपरभाइजर नियुक्त गरी निर्माणाधीन सडक आयोजनाको निरीक्षणमा खटाइएको उहाँले बताउनुभयो । 

करारमा नियुक्त सुपरभाइजरसँगको मिलेमतोमा सडकमा कमसल सामग्री प्रयोग हुने गरेको भनाइ उहाँको छ । पूर्वाधार विकास कार्यालयले अस्वीकृत गरेको ढुङ्गा र गिट्टी प्रयोग गरी यो वर्ष सडक किनारको पर्खाल लगाउने काम भइरहेको छ । 

पर्खालको दुवैतिर प्लाइउड ठड्याएर बिचमा कमसल खालको ढुङ्गा प्रयोग गरी पर्खाल निर्माण भइरहेको पाइएको छ । पर्खालमा ६० प्रतिशत गिट्टी, बालुवा, सिमेन्ट र ४० प्रतिशत ढुङ्गा प्रयोग गरेर पर्खाल निर्माण भइरहेको छ । उक्त कमसल निर्माण कार्यको स्थानीय जनप्रतिनिधिले विरोध गरेका छन् । निर्माण कम्पनीका प्राविधिक दिलीप खड्काले स्थानीयस्तरमा पाइने ढुङ्गा नै कमजोर खालको भएकाले सडक निर्माणमा पनि त्यही प्रयोग गरिएको बताउनुभयो । आयोजना स्थलमा पानीसमेत निकै टाढाबाट ट्याङ्करमा ढुवानी गर्नु पर्दा समस्या भएको स्वीकार्नुभयो । 

पर्खाल निर्माणमा प्रयोग भइरहेका ढुङ्गा मुक्का हानेरै सजिलैसँग फुटाउन सकिने खालका रहेका छन् । भारतीय सीमा नाकासँग जोडिएको बैतडीको स्वराड क्षेत्रका तीन पालिकाका ६० हजार नागरिकको समस्यालाई सम्बोधन गर्न उक्त सडक निर्माण आयोजना अगाडि बढाइएको हो । 

सरकारले स्थानीय माग थेग्न नसकेर करिब दुई दशकपछि सडक निर्माणसँगै कालोपत्रे गर्न यतिको रकम (बजेट) विनियोजित गरेको छ । पाटन–पञ्चेश्वर सडक निर्माणका लागि राज्यले पर्याप्त बजेट पठाए पनि गुणस्तरीय काम हुन नसकेको स्थानीय युवा अगुवा महेशदत्त भट्टले बताउनुभयो । 

सडक निर्माणमा भइरहेको कमसल तथा गुणस्तरहीन कामका सम्बन्धमा जनप्रतिनिधि मौन बस्ने गरेको आरोप उहाँले लगाउनुभयो । सडक निर्माण आयोजनाका ठेकेदारलाई स्तरीय सडक निर्माणका लागि स्थानीय नागरिक समाजको दबाब आवश्यक रहेको भनाइ स्थानीयवासीको छ । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा