अछामको ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण

October 27, 12:02

अछाम । अछामको मेल्लेख गाउँपालिकामा अवस्थित ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

बुधबार एक औपचारिक कार्यक्रमका बीच तत्कालीन बिमकोटी राजा जनकबहादुर शाहले दरबारसहित दरबारको नाममा रहेको ६ दशमलव ५ रोपनी जग्गा गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदलाई हस्तान्तरण गरेका हुन्।

दरबार मेल्लेख गाउँपालिका वडा नं ५ बिन्धेबासीनीमा अवस्थित छ। दरबारको संरक्षण तथा प्रवद्र्धन अबदेखि गाउँपालिकाले गर्ने भएको छ। बिमकोट दरबार दुईतिरबाट बिमकोटीगाड र चोटे खोलाले घेरिएको छ। 

जङ्गलको बीचमा अवस्थित दरबार नजिक कुनै गाउँबस्ती छैन। दरबारको सिरानीमा षोड्षादेवीको मन्दिर रहेको छ। षोड्षादेवीलाई बिमकोटे राजा तथा उनका सन्तानहरूले कुलदेवीका रूपमा पुज्दै आएका छन्।

किंवदन्तीअनुसार बिमा राउतको सल्लाहबमोजिम दरबार बनाएका कारण सो ठाउँको नाम बिमकोट रहन गएको हो। उक्त दरबारको खाका भने महिमा नामका नवाँठानी ओडले कोरेका थिए। दरबार निर्माणका लागि एकदिनको पैदल बाटोको दूरीमा रहेको दर्बागाउँबाट ढुङ्गा ओसारिएको थियो। 

१६औँ शताब्दीमा निर्मित उक्त दरबार विसं १९९७ मा अस्तित्वमा आएको थियो। बिमकोट दरबार परिसरमा फारसी भाषाको शिलालेख थियो। 

फारसी भाषाको शिलालेख भेटिनुले थप कौतुलहता उत्पन्न गर्छ। फारसी भाषाको उक्त शिलालेख हाल षोडषादेवी मन्दिर परिसरमा राखिएको छ।

जनकबहादुर शाहका अनुसार १९९० सालको भूकम्पमा पुरानो बिमकोट दरबार भत्किएको थियो। त्यसपछि उनका हजुरबुवा नगेन्द्रबहादुर शाहले प्राचीन दरबारभन्दा नयाँ दरबार निर्माण गरेका थिए। नयाँ दरबार निर्माण गर्न १३ वर्ष लागेको थियो। जुन दरबारले बिमकोटे राजाहरूको विरासतका रूपमा अहिले पनि खडा छ।

सशस्त्र द्वन्द्व सुरु भएपछि भने बिमकोटे राजाका सन्तानहरूले उक्त दरबार छोडेका थिए। द्वन्द्वका कारण गाउँबस्तीदेखि टाढाको दरबार कुर्ने मानिस पनि भेटिएनन्।

द्वन्द्वकै समयमा दरबारमा रहेका ऐतिहासिक कागजात, भाँडाकुँडा, ताम्रपत्र जलाएका थिए। मानिस बस्न छोेडेका कारण बिमकोट दरबार हाल जीर्ण अवस्थामा छ। रासस

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा