जहाज नआउँदा पाटन विमानस्थलमा ‘टिकटक’ र ‘सेल्फी’बनाउनेको भिड, करोडौं संरचना प्रयोगविहिन

October 30, 10:55

बैतडी। बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा स्थानीयहरुको ‘टिकटक’ र ‘सेल्फी’बनाउने स्पट बनेको छ । गएको डेढ वर्षदेखि यो विमानस्थलमा जहाज नआउँदा करोडौं रुपैंया खर्च गरेर पुननिर्माण गरिएको विमानस्थल टिकटक बनाउने स्पट बनेको हो ।

विमानस्थल पुनःनिर्माण भएपछि केही महिना समीट एयरले उडान गरेको भएपनि २०७८ चैतदेखि यो विमानस्थलमा हवाई सेवा पूर्ण रुपमा बन्द भएको छ । यात्रुको अभाव भएका कारण समीट एयरले उडान बन्द गरेको समीट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए । यात्रुको अभावका कारण २०७८ चैत १० गतेपछि यो विमानस्थलमा हवाई सेवा बन्द भएको छ ।

यात्रुहरुले महंगो भाडा भएको बताउँदै आएका छन् । पाटनदेखि धनगढी सम्मको हवाई दूरी १७ मिनेटको रहेको छ । त्यो दुरीमा शुरुमा ३ हजार सात सय भाडा कायम गरिएपनि पछि भाडा बढेर ५ हजारसम्म पुगेको थियो । भाडा महंगो भएका कारण यात्रुहरुको अभाव भएको स्थानीय राजेश जोशीले बताए ।

विमानस्थल सुचारु भएपछि नियमति हवाई उडान हुने र यसले यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको थियो । तर हवाई उडान बन्द भएपछि अहिले बैतडी विमानस्थल पाटन टिकटक बनाउने थलो भएको स्थानीय भागरथी भट्टले बताइन् । विमानस्थलमा जहाज नआउँदा दशैंको टिका लगाएर टिकटक र सेल्फि खिच्नेहरु खचाखच भरिएका थिए। विमानस्थलको धावनमार्गमा स्थानीयबासीका लागि टिकटक बनाउने थलो र ‘सेल्फीस्पट’का रुपमा परिणत भएको छ।

उडान बन्द भएपछि अहिले धावनमार्गमा बसेर टिकटक बनाउने, फोटो खिच्ने स्थलका रुपमा परिणत भएको हो। साथै धावनमार्गमा घाँस उम्रिन थालेपछि गौचरको रुपमा समेत परिणत भएको छ।दशैंको समयमा प्रसिद्ध उदयदेव मन्दिरमा लागेको जात्रामा सहभागी भएका सैयौं नागरिकले पाटन विमानस्थलमा टिकटक बनाएका छन् । विमानस्थलमा हवाई सेवा बन्द भएपछि विमानस्थलमा टिकटक बनाउनेहरुको संख्या बढेको हो ।विमानस्थल पुननिर्माण भएपछि यो क्षेत्रमा धार्मिक पर्यटकको संख्या बढ्ने आसा गरिएको थियो । तर विमानस्थलमा हवाई सेवा बन्द भएपछि धार्मिक पर्यटकहरु समेत आउन नसकेका बरिष्ठ पत्रकार लक्ष्मीदत्त पाण्डेयले बताए । उनले भने ‘विमानस्थल सञ्चालनमा आउँदा नागरिक खुसी भएका थिए । तर हवाई सेवा बन्द भएपछि नागरिक निराश भएका छन् ।’

बैतडी विमानस्थल पाटनमा हवाई सेवा सुचारु नहुँदा करोडौं संरचना प्रयोगविहिन भएका छन् । परीक्षण उडान सफल भएपछि केही महिना समीट एयरले यो विमानस्थलमा उडान भरेको थियो । तर झण्डै डेढ बर्षयता हवाई सेवा बन्द भएपछि संरचनाहरु प्रयोगविहिन बनेका हुन् ।विमानस्थलको धावन मार्ग ११ करोड खर्च गरेर कालोपत्रे गरिएको थियो भने ५ करोडको लगानिमा टर्मिनल भवन समेत निर्माण गरिएको छ । तर यी सबै संरचना अहिले प्रयोगविहिन अवस्थामा रहेका छन् ।

बैतडी विमानस्थल सुचारु गर्न सरोकारवाला निकायहरुले ध्यान नदिएको स्थानीयहरुले आक्रोश व्यक्त गरेका छन् । विमानस्थल पुननिर्माण भएसंगै सहज हुने आसा गरिएको भएपनि विमानस्थल टिकटक बनाउने र सेल्फी खिच्ने स्थल बनेको स्थानीय चमनकुमार भण्डारीले बताए । सहज भाडादर तय गरेर हप्ताको एकदिन भएपनि विमानस्थल सञ्चालन गर्नुपर्नेमा भण्डारीले जोड दिए ।करोडौं खर्च गरेर पुननिर्माण गरिएको विमानस्थल सञ्चालनमा आउन नसक्नु निकै दुखद भएको तरुण दल बैतडीका कार्यवाहक अध्यक्ष महेशदत्त भट्टले बताए ।

विकासका संरचनाहरु प्रयोगमा आउन नसक्नु नेतृत्वको कमजोरी रहेको उनले औंल्याए । विमानस्थल संरक्षणका लागि बनाइएको घेरा पर्खाल भत्किनाका साथै तारजालीहरु पनि समेत चुँडिन थालेका छन्।द्वन्द्वका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त बनाइएपछि २०५२ साल यता पूर्ण रूपमा विमानस्थल बन्द थियो।विसं२०३६ देखि २०५२ सम्म नियमित उडान हुने यस विमानस्थलमा द्वन्द्वका बेला आगजनी गरी ध्वस्त बनाइएपछि बन्द भएको थियो।२६ वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरी असोज ३० गतेदेखि धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा नियमित रुपमा हवाई सेवा सुरु गरेको थियो।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा