सेती नदीमा जोखिमपूर्ण वारपार
![](/sites/default/files/styles/carousel_large_image/public/2024-01/%E0%A4%B8%E0%A5%87%E0%A4%A4%E0%A5%80-%E0%A4%A8%E0%A4%A6%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%9D%E0%A5%8B%E0%A4%B2%E0%A5%81%E0%A4%82%E0%A4%97%E0%A5%87-%E0%A4%AA%E0%A5%81%E0%A4%B2.jpg?itok=LufBB38c)
बझाङ । दुई वर्षअघि अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिका जोड्ने देउरास्थित झोलुङ्गे पुल बगाएपछि स्थानीयलाई खोला वारपार गर्न जोखिम भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना कैलालीले झोलुङ्गे पुल निर्माणका लागि ठेक्का लगाएको एक वर्ष बितिसक्दा पनि निर्माण सुरु नहुँदा स्थानीयले यस्तो समस्या भोग्दै आएका हुन् ।
हिउँदको समयमा दुई वटै पालिकाले सेती नदीमा काठेपुल निर्माण गर्दै आएका छन् । वर्षाको समयमा भने पानीको बहाव बढ्ने र निर्माण गरेको अस्थायी काठेपुल बगेर जाने भएकाले सर्वसाधारणलाई नदी वारपार गर्न कठिन हुने गरेको छ । देवभूमि कन्स्ट्रक्सन अमरगढीले एक करोड ५० लाख रुपियाँमा सो पुल बनाउने जिम्मा पाएको थियो तर सो पुल बनाउने काम सुरु हुन सकेको छैन् ।
झोलुङ्गे पुलको शिलान्यास लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले गर्नुभएको थियो । हिउँदमा काठेपुलमा समेत भारी बोकेर वारपार गर्दा जोखिम मोल्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । त्यस क्षेत्रको मुख्य बजार देउरा रहेकाले पनि छिमेकी जिल्ला डोटी र थलारा गाउँपालिकाका नागरिकले समेत पुल नहुँदा दुःख र सास्ती खेप्दै आएका छन् ।
पुरानो झोलुङ्गे पुल बाढीले बगाएपछि केदारस्युँ गाउँपालिकामा रहेको बेताल माविमा पढिरहेका विभिन्न गाउँका ९० भन्दा बढी बालबालिकालाई आउन जान कठिन भएको छ । विद्यार्थी जोखिम मोलेर सेती नदीको काठेपुलबाट ओहोरदोहोर गर्ने गरेको थलारा गाउँपालिका–१ का बासिन्दा लालबहादुर बोहराले बताउनुभयो ।
बर्सातमा सेती नदीमा पानीको सतह बढ्नेबित्तिकै थलारा र केदारस्युँका बालबालिकालाई स्कुल जान कठिन हुने उहाँको भनाइ छ । पुल नहुँदा उपभोग्य सामग्री किन्न, बिरामीलाई स्वास्थ्य चौकीमा लैजान पनि कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ । केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पद्मराज उपाध्यायले पुलका विषयमा पटक पटक ठेकेदारसँग समन्वय गरेर काम छिटो गर्न अनुरोध गर्दा पनि सफल नभएको बताउनुभयो ।