आगो बालेर दुर्गम गाउँमा बिजुली बिस्तार

बिजुलीको काम गर्दै विद्युत् वितरण केन्द्र बैतडीका कर्मचारी । तस्बिर : गोकर्ण दयाल
बिजुलीको काम गर्दै विद्युत् वितरण केन्द्र बैतडीका कर्मचारी । तस्बिर : गोकर्ण दयाल
January 29, 8:28

बैतडी । विकास गर्न बजेट भएर मात्र होइन, कर्मचारीमा काम गर्ने इच्छाशक्ति आवश्यक पर्छ भन्ने कुरा अहोरात्र खटेर दुर्गम गाउँमा बिजुली बलेपछि पुष्टि भएको छ ।        

नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका कर्मचारीले ठेकेदारले एक वर्षमा गर्नुपर्ने काम डेढ वर्षसम्म पनि पूरा नगर्दा प्राधिकरणका कर्मचारी आफै स्थलगत रूपमै खटिएर बिजुलीका पोल गाडेर तार तानेपछि यहाँको दुर्गम शिवनाथ गाउँपालिकामा बिजुली बलेको छ । 

भारतीय गाउँको बिजुली हरेर अँध्यारोमा बस्न बाध्य शिवनाथमा बिजुली बाल्न नेपाल सरकारले एक करोड ४७ लाख रुपियाँ बजेट विनियोजित गरेको थियो । गाउँपालिकामा पहिलो पटक बिजुली बलेपछि जनप्रतिनिधि र स्थानीयले प्राधिकरण कार्यालय प्रमुखसहितका कर्मचारीलाई फूलमाला लगाएर अबिर जात्रा गरेका छन् । 

आइतबार शिवनाथ गाउँपालिकाको सुल्खेखानमा आयोजित विद्युत् उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष कर्ण साउदले बिजुली बाल्न  प्राधिकरणका कर्मचारीले रातभरि आगो बालेर काम गरेको स्मरण गर्नुभयो । 

अध्यक्ष साउदले भन्नुभयो, “शिवनाथमा बिजुली बाल्न प्राधिकरणले डेढ वर्षअघि नै ठेक्का सम्झौता गरेको थियो । एक वर्षमा काम सक्ने लक्ष थियो । तर, डेढ वर्षसम्म पनि काम सम्पन्न हुन सकेको थिएन ।” 

उहाँले थप्नुभयो, “शिवनाथवासी भारतीय बिजुली हेरेर अँध्यारोमा बस्न बाध्य थिए । वितरण केन्द्रमा नयाँ हाकिम जनार्दन पौडेल आएपछि ठेकेदार पनि जागरूक बने । कर्मचारीलाई स्थलगत रूपमै खटाएपछि रातभरि आगो बालेर काम गर्दा शिवनाथमा बिजुली बल्यो । उहाँहरूलाई धन्यवाद दिन चाहन्छु ।”

आइतबार मेलौली नगरपालिकादेखि शिवनाथ गाउँपालिकासम्म ११ केभीए राष्ट्रिय प्रसारण लाइन बिस्तार भएपछि शिवनाथ गाउँपालिकामा थ्रिफेज लाइन पुगेको छ । गाउँपालिकामा बिजुली आउँदा आइतबारदेखि कार्यालयको कामकाज गर्न सहज भएको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताउनुभयो ।  

बिजुली पुगेपछि गाउँपालिमा कुटानी पिसानी गर्ने सःमिल लगायत फर्निचर र शिवनाथको जाँतो, खल र सिलौटाका लागि प्रसिद्ध ढुङ्गा काट्न सहज हुने स्थानीयले विश्वास व्यक्त गरेका छन् । 

बिजुली नहुँदा डिजेलबाट चल्ने सःमिलमा एक किलो मकै पिसेको १५ रुपियाँ तिर्नु पर्ने बाध्यता रहेकामा अब घरमै सानो आँटा चक्की चल्ने आशा जागेको स्थानीय महामलसिंह साउदले बताउनुभयो ।  

विद्युत् वितरण केन्द्र बैतडीका कार्यालय प्रमुख जनार्दश पौडेलले मेलौली नगरपालिका हुँदै शिवनाथ गाउँपालिकासम्मको ११ केभिए लाइनमा बिस्तार गर्न नेपाल सरकारले एक करोड ४७ लाख रुपियाँ खर्च गरेको बताउनुभयो । एक वर्षभित्र काम सम्पन्न गर्नेगरि २०७९ वैशाखमा सम्झौता भए पनि छ महिना ढिलो भएकाले ठेकेदारलाई पत्र काटेर वितरण केन्द्रका कर्मचारी स्थलगत रूपमा खटेको उहाँले बताउनुभयो ।  

वितरण केन्द्र प्रमुख पौडेलले पञ्चेश्वर, शिवनाथ र मेलौलीमा पूर्ण विद्युतिकरण गर्ने जिम्मेवारी पाएका सबै ठेकेदारलाई ताकेता गरेर लक्षअनुसार काम गर्न पत्राचार गरिएको बताउनुभयो । आवश्यक सहयोग गर्न हामी तयार छौँ, तर काम नगरी लापरबाही गर्ने ठेकेदारलाई टुलुटुलु हेरेर बस्दैनौँ । काम नगरे ठेक्का तोड्ने र कालोसूचीमा राख्छौँ भन्नुभयो । 

कर्मचारीको अनुभव 

बैतडी सदरमुकामबाट दक्षिण भेगमा पर्ने शिवनाथ गाउँपालिका भारतसँग सीमा जोडिएको सीमान्तकृत गाउँपालिका हो । खान बस्न यहाँ पर्याप्त होटल छैन । यहाँ बिजुली बाल्न प्राधिकरणका नौ जना कर्मचारी सात दिनसम्म जाडो छल्न आगो बालेर काम गरेको प्राविधिक प्रमुख माधवप्रसाद लेखकले बताउनुभयो । 

उहाँले भन्नुभयो, “जाडोले काम गर्न निकै कठिन भयो । चिसोले पोल छुन नसकिने अवस्था आएपछि रातदिन आगो बालेर हात तताउँदै पोल चढेर तार तान्ने काम गर्‍यौँ ।”  

वितरण केन्द्र बैतडीका प्राविधिक प्रमुख माधवप्रसाद लेखकले प्रकाश विष्ट, दिनेश ऐरी, टिका विष्ट, केशव विष्ट, दीपक विष्ट, अजय चौधरी र पूर्ण भाटको टोली लगेर सात दिन जङ्गल र खोलामा काम गरेको अनुभव जीवनभरि अविस्मरणीय रहने बताउनुभयो । 

उहाँले भन्नुभयो, “रातदिन भोक प्यास नभनी काम सकेर लाइन परीक्षण गर्‍यौँ । सबै ठिक थियो । आराम गर्न भनेर हामी मेलौली बजार पुग्दा पोलमा आगो लागेको खबर आयो ।” उहाँले थप्नुभयो, “भोलि पल्ट विद्युत् उद्घाटनको काम भएकाले हामीले रातभरि बिजुली मर्मतको काम सकेर फर्कियौँ । शिवनाथमा बिजुली बलेपछि खुसी लागेको छ ।” 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा