तरकारी बेच्न अब्बल थारु महिला

January 31, 7:23

धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको कुनै दिन छैन । बारीमा उत्पादित तरकारी बजारमा बिक्रीका लागि आफ्ना दौतरीसँग बिहान ६ बजे नै गाउँबाट निस्किनुहुन्छ, उहाँ । 

हिउँदमा चिसोसंग लड्दै नौ किलोमिटर पैदल यात्रा गरेर धनगढी बजार पुग्दासम्म खाना पकाउने बेला भइसकेको हुन्छ । त्यहि मौका छोपेर ‘तरकारी लेबो, तरकारी लेबो ? (तरकारी लिने)’ भन्दै टोल टोल पुग्नुहुन्छ, अनिता ।  “दिनकै हिडेर तरकारी बेच्नु दुःखकष्ट त छ”, उहाँ भन्नुहुन्छ,“तर, गुजारा गर्न यत्ति त गर्नै  पर्यो ।”

धनगढी उपमहानगरपालिका–८ की ५७ वर्षीया गुलाबादेवी राना पनि चिसोको परवाह नगरी बिहानै निस्किनुहुन्छ, एक भारी तरकारी बोकेर । उमेर ढल्कनै लागे पनि तरकारी बेच्न जोश गएको छैन । भन्नुहुन्छ,“यसरी दैनिक हिडेर तरकारी बेचेको कैयौं वर्ष भइसक्यो । अझै सकुञ्जेल बेच्छुँ ।”

अनिता र गुलाबादेवी प्रतिनिधि पात्र भए पनि उहाँहरु जस्तै धनगढी बजार आसपासका सयौं महिला हिड्दै तरकारी बिक्री गर्ने कार्यमा संलग्न छन् । जुनसुकै सिजनमा आफ्नो बारीमा तरकारी खेती गर्ने र उत्पादित तरकारी बेच्ने उनीहरुको दिनचर्या हो । यसरी तरकारी बिक्री गर्नमा अब्बल देखिएका थारु महिलाको कमाइ दैनिक दुई सयदेखि दुई हजार रुपियाँसम्म रहेको छ । 

“कहिलेकाँही दैनिक ज्याला पनि निस्किदैन । तर, बजार मूल्य बढी भएको बेला कुनै दिन दुई हजार रुपियाँसम्म आम्दानी हुने गरेको छ”, पथरीकी रामकुमारी चौधरीले भन्नुभयो । उहाँका अनुसार पथरी गाउँबाटमात्रै दैनिक ३०÷४० जना महिला आफ्नो बारीको तरकारी बिक्री गर्न धनगढी बजार आउने गरेका छन् । तरकारी बिक्री गरेर नै गाउँको गुजारा भइरहेको रामकुमारीको भनाइ छ । 

धनगढी बजार आसपासमा जाई, जाली, पटेला, धनगढी गाउँ, घुइयाघाट, बङ्गरा, जुगेडा, मटियारी, पथरी, धुरझन्ना, बेली, कनरी लगायतका गाउँ रहेका छन् । यी गाउँहरुमा बसोबास गर्ने थारु र रानाथारु समुदायका मानिसको आयआर्जनको स्रोत कृषि कार्य नै हो । कृषि पेसामा संलग्न परिवारका प्रायः थारु महिला तरकारी बेचेर परिवार धानिरहेका छन् । 

आफ्नो बारीमा भएको तरकारी अलिअलि बेचेर आएको पैसाले गुजारा गर्न सहज हुने गरेको धनगढी गाउँका रामदुलारी रानाले बताउनुभयो । “तरकारी बिक्री गरेर मैले महिनामा १५ हजार रुपियाँसम्म कमाउने गरेकी छु”, उहाँले भन्नुभयो,“मेरो कमाइले घर खर्च धान्न सजिलो भएको छ ।”

धनगढी बजारमा भारतबाट आयात गरिएको तरकारी सस्तोमा पाईन्छ । त्यसले स्थानीय किसानलाई समस्या गरे पनि गाउँघरको ताजा तरकारी मन पराउने कतिपय मान्छेहरु आफूहरुलाई कुरेर बस्ने गरेको पथरीकी एलिसा चौधरीले बताउनुभयो । “हामीहरु ताजा तरकारी ल्याउँछौं, त्यसकारण जान्ने बुझ्ने मान्छेले हामीले ल्याएको तरकारी मन पराउँछन्”, उहाँले भन्नुभयो,“जेहोस, यो काम गरेर, निराश हुनु परेको छैन । अलि अलि कमाइ भइहाल्छ ।”

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा
व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य…
टीकापुर ।  कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका… विस्तृतमा