६ वर्ष नपुग्दै प्रदेशमा २८ मुख्यमन्त्री नियुक्त, सबैभन्दा धेरै कोशीमा

October 27, 11:35

काठमाडौं / गत असोज २७ गते कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त भए- केदार कार्की। सो प्रदेशमा मध्यावधि निर्वाचन हुने हो कि भन्ने आशंकाबीच कार्कीले एमालेका ३९ जना सांसद र कांग्रेसका आठ सांसदको समर्थनमा दाबी पेश गरेका थिए।

२०७९ मा सम्पन्न निर्वाचनबाट गठित प्रदेश सभामा कार्की पाँचौँ मुख्यमन्त्री हुन्। समग्रमा कोशीका आठौं मुख्यमन्त्री हुन्।

२०७४ देखि सुरु भएको प्रादेशिक अभ्यासका क्रममा सबैभन्दा अस्थिर प्रदेश देखिएको छ, कोशी। तर अन्य प्रदेशहरूमा पनि स्थिर सरकार भने बनेको देखिँदैन। यस सामग्रीमा कुन प्रदेशमा केकति मुख्यमन्त्री परिवर्तन भए भनेर चर्चा गरिन्छः

कोशी प्रदेश (८ मुख्यमन्त्री)
कोशी प्रदेश सभाको पहिलो कार्यकालमा तीन जना मुख्यमन्त्री नियुक्त भएका थिए। सुरुवातमा एमालेका शेरधन राई मुख्यमन्त्री भएका थिए। उनले एमालेकै भीम आचार्यका निम्ति पद त्याग गरेका थिए। तर एमाले विभाजनपछि उनलाई एकीकृत समाजवादीका राजेन्द्र राईले विस्थापित गरेका थिए।

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको दोस्रो निर्वाचनपछि यो प्रदेशमा सत्ताको झिनाझम्टी चलिरहेको छ। सुरुवातमा एमाले र माओवादी गठबन्धनको तर्फबाट एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। तर सो गठबन्धन भत्किएपछि उनी सत्ताबाहिर पुगे। त्यसपछि दुई पटक कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भए। उनलाई पुनः कार्कीले नै विस्थापन गरे। कार्कीले राजीनामा दिएपछि कोशीमा केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन्।

मधेश प्रदेश (२ मुख्यमन्त्री)
मधेश प्रदेशले हालसम्म दुई वटा मुख्यमन्त्री मात्रै पाएको छ। प्रदेश सभाको पहिलो कार्यकालमा लालबाबु राउत मुख्यमन्त्री बनेका थिए। उनी पाँचै वर्ष पदमा रहिरहे। यद्यपि, गठबन्धनका अन्य दलमा पनि परिवर्तन आइरह्यो। २०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको दोस्रो निर्वाचनपछि सरोजकुमार यादव मुख्यमन्त्री बनेका छन्।

बागमती प्रदेश (४ मुख्यमन्त्री)
बागमती प्रदेश सभाको पहिलो कार्यकालमा यो प्रदेशमा तीन जना मुख्यमन्त्री नियुक्त भए। सुरुवातमा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री नियुक्त भएका थिए। तर उनको पार्टी एमाले विभाजित हुने निश्चित भएसँगै पौडेलले अष्टलक्ष्मी शाक्यलाई हस्तान्तरण गरेका थिए। शाक्य मुख्यमन्त्री रहेकै स्थितिमा एमालेको विभाजन भयो। एमाले विभाजन भएर गठन भएको दल एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले शाक्यलाई विस्थापन गरे।

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको दोस्रो निर्वाचनपछि माओवादी केन्द्रका शालिकराज जम्कट्टेल मुख्यमन्त्री भएका छन्।

गण्डकी प्रदेश (३ मुख्यमन्त्री)
प्रदेश सभाको पहिलो कार्यकालमा गण्डकी प्रदेशले पनि तीन वटा मुख्यमन्त्री पायो। त्यतिबेला एमालेका पृथ्वीसुब्बा गुरुङ दुई पटक र कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल एक पटक मुख्यमन्त्री बनेका थिए।

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको दोस्रो निर्वाचनपछि पनि यो प्रदेशले दुई जना मुख्यमन्त्री पाइसकेको छ। सुरुवातमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। तर, एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन भत्किएपछि कांग्रेसका सुरेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त भएका छन्।

लुम्बिनी प्रदेश (५ मुख्यमन्त्री)
लुम्बिनी प्रदेश सभाको पहिलो कार्यकालमा तीन जना मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिबेला एमालेका शंकर पोखरेल दुई पटक र माओवादी केन्द्रका कुलप्रसाद केसी एक पटक मुख्यमन्त्री नियुक्त भएका थिए।

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको दोस्रो निर्वाचनपछि पनि दुई मुख्यमन्त्री नियुक्त भइसकेका छन्। सुरुवातमा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनबाट एमालेका लीला गिरी मुख्यमन्त्री बनेका थिए। तर सो गठबन्धन भत्किएपछि कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बनेका छन्।

कर्णाली प्रदेश (३ मुख्यमन्त्री)
कर्णाली प्रदेश सभाको पहिलो कार्यकालमा दुई मुख्यमन्त्री नियुक्त भएका थिए। सुरुवातमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका थिए। पछि कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बने।

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको दोस्रो निर्वाचनपछि माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री बनेका छन्।

सुदूरपश्चिम प्रदेश (३ मुख्यमन्त्री)
सुदूरपश्चिम प्रदेशको पहिलो कार्यकालमा एक जना मात्रै मुख्यमन्त्री नियुक्त भएका थिए- माओवादी केन्द्रका त्रिलोचन भट्ट। त्यतिबेला मधेश प्रदेशका लालबाबु राउत र यस प्रदेशका भट्ट मात्रै पूरा कार्यकाल मुख्यमन्त्री भएका थिए। तर दुवै प्रदेशमा सत्ता साझेदार दलहरू भने परिवर्तन भएका थिए।

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको दोस्रो निर्वाचनपछि भने दुई जना मुख्यमन्त्री नियुक्त भइसकेका छन्। सुरुवातमा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए। तर उनले संविधानअनुसार तीस दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत लिन सकेनन् र पदमुक्त भएका थिए। उनीपछि कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री भएका छन्। -nepallive.com

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा