निजी स्रोतका शिक्षकको व्यवस्थापन गर्दै स्थानीय तह

August 30, 2:22

डोटी,१३ भदौ   । आदर्श गाउॅपालिका–७ स्थित कालिकास्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश दाहाललाई निजी स्रोतका शिक्षकको तलब जोहो गर्न सधैं तनाव हुन्थ्यो । यही पिरलोले गाउँपालिका, चन्दादाता त कहिल्ये अभिभावकहरुलाई तलबका लागि गुहार्नमै समय जान्थ्यो । गाउँपालिकाले खुला प्रतिस्पर्धा गराएर निजी स्रोतका शिक्षकको व्यवस्थापन गरिदिएपछि उनको यो चिन्ता हटेको छ ।

आदर्श गाउँपालिकाले विद्यार्थी अनुपातका आधारमा शिक्षक छनोट गरी निजी स्रोतका शिक्षकको व्यवस्थापन गरिदिएको हो । ‘खुला प्रतिस्पर्धाबाट छनोट भई आएकाले योग्य शिक्षक पनि पायौं, तलबका लागि हारगुहार गर्नुपर्ने झन्झटबाट पनि मुक्त भइयो,’ प्रधानाध्यापक दाहालले भने, ‘यसले विद्यार्थीको पढाइ सुधारमा टेवा पुग्ने अपेक्षा लिएका छौं ।’ कालिकास्थान माविमा पालिकाले माध्यमिक र आधारभूत तहका लागि गाउँपालिकाले तीन जना शिक्षक खटाइदिएको छ ।

गिरीचौका माविका प्रधानाध्यापक नरबहादुर खडायतसँग विभिन्न शीर्षकमा शुल्क उठाएर निजी स्रोतका शिक्षकको तलब ब्यहोर्नुपर्ने बाध्यता थियो । अहिले गाउँपालिकाले माविमा १, आधारभूत तहमा ३ गरी ४ शिक्षक खटाइदिएको छ । ‘हामीलाई शिक्षकको तलब व्यवस्थापनका लागि ठूलो राहत पुगेको छ’, प्रअ खडायतले भने, ‘विषयगत शिक्षक नपाएर हैरान थियौं, पढाइ सुधारमा भन्दा शिक्षकको तलब खुवाउने चिन्ता हुन्थ्यो ।’

३८ सामुदायिक विद्यालय रहेको आदर्शमा यसै महिनामात्रै ५५ जना शिक्षक छनोट गरी पठाएको गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले बताए । निजी स्रोतका शिक्षकको तलबका लागि शैक्षिक अनुदान शीर्षकमा यसअघि वार्षिक एक करोड बजेट विनियोजन गरिन्थ्यो । उक्त रकमले पनि अपुग भएर विद्यालयहरु अभिभावकबाट विभिन्न शीर्षकमा शुल्क उठाउँदै आएका थिए । ‘शिक्षकहरुको उचित बन्दोबस्त हुन नसकेको गुनासो आयो’, अध्यक्ष खड्काले भने, ‘संविधानअनुसार निस्शुल्क शिक्षाको प्रत्याभूति दिलाउन दीर्घकालीन समाधानका लागि निजी स्रोतका शिक्षकको जिम्मेवारी पालिकाले उठायो ।’

यसअघि निजी स्रोतमा न्यून तलबमा अध्यापन अनुमतिपत्र नभएका व्यक्ति पनि शिक्षण गर्दै आएका थिए । गाउँपालिकाले शिक्षक सहयोग अनुदान कार्यविधि नै बनाएर कार्यान्वयनमा ल्याएको शिक्षा इकाई प्रमुख पदम विष्टले बताए । उनले विषयगत र अध्यापन अनुमतिपत्र योग्य शिक्षक खुला प्रतिस्पर्धाबाट छनोट गरिएकाले शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरे ।

शिक्षा इकाई प्रमुख विष्टका अनुसार खुला प्रतिस्पर्धाबाट छनोट गरी माध्यमिक तहमा १२, आधारभूत तह (१—८) मा २०, १—५ का लागि २३ जना शिक्षक खटाइएको छ । उनीहरुलाई सरकारले तोकेनुसारको तलबभत्ता उपलब्ध गराइने पालिकाले जनाएको छ ।

दिपायल सिलगढीमा पनि

यता डोटी सदरमुकामको दिपायल सिलगढी नगरपालिकाले पनि कार्यविधिमार्फत २० जना शिक्षक छनोट गरेको छ । विद्यालयको आवश्यकताका आधारमा आवि तहमा १५ र माविमा ५ गरी २० शिक्षक खटाएको नगरपालिका शिक्षा इकाई प्रमुख लक्ष्मीराज ओझाले बताए ।

शैक्षिक गुणस्तर उकास्न शेल्लेश्वर आविलाई समायोजन, शारदा आविको तह घटुवा र १० वटा शिक्षकको दरबन्दी मिलान गरिएको ओझाले बताए । ‘मावि तहसम्मको शिक्षाको बन्दोबस्त गर्नु स्थानीय तहको दायित्व हो,’ ओझाले भने, ‘समस्याको पहिचान गर्दै आवश्यकताअनुसार शिक्षकको बन्दोबस्त गर्न भ्याएका छौं, यसले शैक्षिक गुणस्तरमा सुधार आउनेमा विश्वस्त छौं ।’ -कान्तिपुर 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा