सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी कृषि पढ्न इजरायल जाँदै

September 10, 12:39

धनगढी,२४ भदौ । सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका विद्यार्थी प्रयोगात्मक सिकाइका लागि इजरायल जाने भएका छन् । टीकापुर कृषि क्याम्पसका आठौं सेमेस्टरका विद्यार्थी आउँदो साता इजरायल जाने भएका हुन् ।

नेपालस्थित इजरायली राजदूतावासको सहजीकरणमा सेडट नेगेभ कलेजसँग भएको सम्झौताअनुसार विद्यार्थीहरुले उक्त अवसर पाउन लागेका हुन् । आठौं सेमेस्टरका ४९ जना विद्यार्थीले इजरायलका कृषि फार्ममा प्रयोगात्मक अभ्याससँगै आम्दानी समेत गर्नेछन् ।

इजरायली दूतावाससँग भएको सम्झौताअनुसार कृषि संकायमा अध्ययनरत आठौं सेमेस्टरका हरेक शैक्षिक सत्रका विद्यार्थी अध्ययनका लागि इजरायल जान पाउने पकुलपति अम्मराज जोशीले बताए । विद्यार्थीहरुले ११ महिनासम्म विभिन्न कृषि फार्ममा काम गरेर व्यवसायिक खेतीका विधिको प्रयोगात्मक सिकाइसँगै कमाइ समेत गर्न सक्नेछन् ।

विद्यार्थीहरु अर्न एण्ड लर्न प्रोग्रामअन्तर्गत विद्यार्थीहरु इजरायल जान लागेका र त्यहाँको प्रविधीको बारेमा पनि सिक्ने उनको भनाई छ । उनका अनुसार सोमबार १५ जना र मंगलवार ३४ जना प्रस्थान गर्नेछन् ।

विश्वविद्यालयले कृषि संकायमा हरेक वर्ष ११० जना विद्यार्थी भर्ना गर्ने गरेको छ । जसमध्ये १० जना सुदूरपश्चिम प्रदेशका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरु हुन्छन् । यसपटक सय विद्यार्थीमध्ये ९२ जना मात्रै अध्ययनरत छन् । तीमध्ये ५५ जनाले इजरायलका लागि आवेदन दिएका थिए । तिनैबाट ५० जना छनोट भएका थिए । एक जना बिरामी भएका कारण जान नसक्ने भएको डीन अमगाइले बताए ।

विश्वविद्यालयले ९२ जना विद्यार्थीलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न २४ जिल्लामा पठाएका थियो । हिमाली, पहाडी र तराईमा काम गर्ने विद्यार्थीले भूगोलअनुसार १४ हजारदेखि २४ हजार रुपैयाँसम्म मासिक आम्दानीसमेत गरेका थिए । उक्त परियोजनामा समेत विद्यार्थीले कुनै सिकायत नआउने गरी काम गरेकाले इजरायलमा पनि राम्रो नतिजा ल्याउने अपेक्षा गरिएको डीन अमगाईले बताए ।

विश्वविद्यालयमा अर्न एण्ड लर्न कार्यक्रम गत वर्ष मंसिरमा सुरु गरिएको थियो । त्यही कार्यक्रमअन्तर्गत वैशाखमा इजरायलमा विद्यार्थी पठाउने निश्चित भएपछि असारमा सेडट कलेजसँग सम्झौता भएको हो । अन्य देशमा पनि विभिन्न कलेज र दूतावाससॅंग यही कार्यक्रमका लागि पहल भइरहेको डीन अमगाईले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा