सरकारी तथा गैरसरकारी निकाय भूकम्पपीडित प्रभावित क्षेत्रमा

October 10, 8:50

बझाङ। बझाङमा केन्द्रबिन्दु बनाई मंगलबारदेखि पटक पटक गएको भूकम्पका कारण जिल्लाका १२ हजार ३४ वटा घर तथा भवनमा  क्षति भएको छ । जिल्ला बिपद व्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट विवरण प्राप्त गरेअनुसार पूर्ण, आंशिक र सामान्य क्षति भएका ११ हजार ७७० घर तथा भवन क्षति भएको विवरण प्राप्त गरेको छ ।  

भूकम्पका कारण सबैभन्दा बढी निजी घरहरू २ हजार ११९ पूर्णक्षति, ६ हजार १८३ आंशिक क्षति र ३ हजार ४ सय ६८ घर आंशिक क्षति भएका छन् । त्यसका साथै सरकारी भवन तथा कार्यालयतर्फ पूर्णक्षति ११७ वटा भवन र आंशिक क्षति १४७ रहेको जिल्ला बिपद व्यवस्थापन समितिको अभिलेखमा उल्लेख छ  । 

त्यसका साथै जिल्लाभरि चौपायातर्फ ६ वटाको मृत्यु ३ घाइते रहेका छन् । यसका साथै अन्य क्षतितर्फ जलबिद्युत, शौचालय, सामुदायिक भवनतर्फ ५० वटाको क्षति भएको समेत सो अभिलेखमा उल्लेख छ । 

मंगलबारसम्म जिल्लाका ११ वटा स्थानीय तहहरूले क्षतिको सबै विवरण जिल्ला बिपद व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयमा बुझाइसकेको छ । सुर्मा गाउँपालिकाको मात्र विवरण आउन बाँकी रहेको जिल्ला बिपद व्यवस्थापन समितिका फोकलपर्सन नन्द धामीले जानकारी दिनुभयो । 

सुर्मा गाउँपालिकाको विवरण आएपछि केही सङ्ख्या बढ्न सक्ने बताइएको छ । भूकम्पबाट क्षति भएका घरपरिवार र सरकारी निकायलाई प्रारम्भिक चरणमा राहत उपलब्ध गराउन स्थानीयको समन्वयमा विभिन्न गैरसरकारी संस्थाले पनि राहत वितरण गर्ने काम गरिरहेका छन् । जिल्ला बिपद व्यवस्थापन समितिको निर्णयअनुसार खप्तडछान्ना गाउँपालिकामा प्लान इन्टरनेशनल, केदारस्यँ गाउँपालिकामा वल्र्डभिजन इन्टरनेशनल, दुर्गाथली गाउँपालिकामा युनिसेफ, तल्कोट, छबिसपाथीभेरा, बित्थडचिर र साइपाल गाउँपालिकामा नेपाल रेडकक्रसले राहत वितरण गर्ने निर्णय गरिएको छ । 

यसका साथै मष्टा गाउँपालिका र जयपृथ्बी नगरपालिकामा युएनएफपीए, थलारा गाउँपालिकामा युनसेप र युएमएनले राहत दिने भएको छ । साथै जयपृथ्बी नगरपालिकाका केही वडामा वर्ल्ड भिजन र सेभ द चिल्डेनले राहत वितरण गर्ने सहमति भएको छ ।  बुगंल नगरपालिकामा निड्स नेपालले राहत वितरण गर्ने निर्णय भएको पनि प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिनुभयो । 

पीडित परिवारलाई नगद तथा राहत सामग्री दिने अन्य संस्था तथा व्यक्तिले जिल्ला बिपद व्यवस्थापन समिति तथा स्थानीय तहको समन्वयमा दिनुपर्ने समेत निर्णय गरिएको छ । भूकम्प पीडितलाई राहत उपलब्ध गराउँदा दोहोरोपन नहोस् र पीडितले राहतबाट वञ्चित नहुन् भनेर एकद्घार प्रणाली अपनाएको पनि प्रजिअ पाण्डेले जानकारी दिनुभयो । 

अहिले जिल्लाभरि राहत वितरणका लागि स्थानीय तहका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू राहत सामग्री लिएर प्रभावित क्षेत्रमा परिचालित भएका  छन् । भूकम्पले सबैभन्दा बढी जयपृथ्बी नगपालिका, मष्टा गाउँपालिका, थलारा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, केदारस्युँ गाउँपालिका, दुर्गाथली गाउँपालिका, छबिसपाथीभेरा गाउँपालिका, बुइगल नगरपालिका, तल्कोट गाउँपालिका, साइपाल गाउँपालिका र सुर्मा गाउँपालिकामा क्षति गरेको छ । 

प्रारम्भिक राहत सामग्रीमा त्रिपाल, टेन्ट, पिफम, कम्बललगायतका सरसफाइ सामग्रीहरू रहेका छन् । भूकम्पमा परी एक जनाको मृत्यु र २० जना घाइते भएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा