बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण

November 10, 11:47

बझाङ। पछिल्लो समय नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले गत असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएपछि अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरेको हो ।

भूकम्प मापन केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईले बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको जानकारी दिनुभयो । नेपालमा वि.सं.२०३७ मा ललितपुरको फूलचोकीडाँडामा पहिलो भूकम्प मापन केन्द्र निर्माण गरिएको थियो । बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण भएसँगै नेपालभर ४३ स्टेशनबाट भूकम्प मापन हुँदै आएको छ ।

वि.सं.०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पपछि मापनका लागि विभिन्न देशको सहयोगमा जोखिममा रहेका नेपालका २० स्थानमा ‘भूकम्प मापन केन्द्र’ निर्माण गरिएका थिए । वि.सं.२०७२ पछि नेपाल सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र थाइल्याण्डको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन केन्द्र’ निर्माण गरेको छ । 

हाल नेपालको झापा, उदयपुर, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, बाजुरा, दार्चुला, सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा, महोत्तरी, दाङलगायत जिल्लाका विभिन्न स्थानमा केन्द्र निर्माण गरिएका छन् । गोरखा भूकम्पअघि नेपालका २२ केन्द्रले मात्र भूकम्प मापन गर्दै आएका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प मापन केन्द्र निर्माण भएसँगै देशभर जाने भूकम्पको तथ्याङ्क मापन गर्न सहज हुने बताउनुभयो । “भूकम्प मापन गर्ने धेरै स्टेशन निर्माण भएसँगै सानाभन्दा साना भूकम्पसमेतको मापन गर्न सहज भएको छ”, उहाँले भन्नुभयो । नेपाल हिमालय हिमशृङ्खलामा रहेको मुलुक भएकाले पनि यस क्षेत्रमा अन्य क्षेत्रको तुलनामा धेरै भूकम्प जाने गरेको छ ।

हाल राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले देशरभरको भूकम्पका बारेमा जानकारी दिने गरेको छ । रासस

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा