सेती नदीमा जोखिमपूर्ण वारपार

January 29, 2:21

बझाङ । दुई वर्षअघि अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिका जोड्ने देउरास्थित झोलुङ्गे पुल बगाएपछि स्थानीयलाई खोला वारपार गर्न जोखिम भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना कैलालीले झोलुङ्गे पुल निर्माणका लागि ठेक्का लगाएको एक वर्ष बितिसक्दा पनि निर्माण सुरु नहुँदा स्थानीयले यस्तो समस्या भोग्दै आएका हुन् । 

हिउँदको समयमा दुई वटै पालिकाले सेती नदीमा काठेपुल निर्माण गर्दै आएका छन् । वर्षाको समयमा भने पानीको बहाव बढ्ने र निर्माण गरेको अस्थायी काठेपुल बगेर जाने भएकाले सर्वसाधारणलाई नदी वारपार गर्न कठिन हुने गरेको छ । देवभूमि कन्स्ट्रक्सन अमरगढीले एक करोड ५० लाख रुपियाँमा सो पुल बनाउने जिम्मा पाएको थियो तर सो पुल बनाउने काम सुरु हुन सकेको छैन् । 

झोलुङ्गे पुलको शिलान्यास लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले गर्नुभएको थियो । हिउँदमा काठेपुलमा समेत भारी बोकेर वारपार गर्दा जोखिम मोल्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । त्यस क्षेत्रको मुख्य बजार देउरा रहेकाले पनि छिमेकी जिल्ला डोटी र थलारा गाउँपालिकाका नागरिकले समेत पुल नहुँदा दुःख र सास्ती खेप्दै आएका छन् । 

पुरानो झोलुङ्गे पुल बाढीले बगाएपछि केदारस्युँ गाउँपालिकामा रहेको बेताल माविमा पढिरहेका विभिन्न गाउँका ९० भन्दा बढी बालबालिकालाई आउन जान कठिन भएको छ । विद्यार्थी जोखिम मोलेर सेती नदीको काठेपुलबाट ओहोरदोहोर गर्ने गरेको थलारा गाउँपालिका–१ का बासिन्दा लालबहादुर बोहराले बताउनुभयो । 

बर्सातमा सेती नदीमा पानीको सतह बढ्नेबित्तिकै थलारा र केदारस्युँका बालबालिकालाई स्कुल जान कठिन हुने उहाँको भनाइ छ । पुल नहुँदा उपभोग्य सामग्री किन्न, बिरामीलाई स्वास्थ्य चौकीमा लैजान पनि कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ । केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पद्मराज उपाध्यायले पुलका विषयमा पटक पटक ठेकेदारसँग समन्वय गरेर काम छिटो गर्न अनुरोध गर्दा पनि सफल नभएको बताउनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा