शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस

January 29, 2:31

काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल गरिएको छ । बाँकी शाखा सम्बन्धित जिल्लाका सीडीओमार्फत सिल गर्न भनिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ ।

शाखा धेरै हुँदा समिति सबै ठाउँमा पुग्न सकेको छैन । गत भदौ २५ मा यो सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो । यसअघि नै बचकर्ताको अर्बौं फिर्ता गर्न नसकेर फरार सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई सीआईबीले पक्राउ गरेको थियो ।

समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले सबै डकुमेन्ट लुकाएपछि मात्र सरकारले समस्याग्रस्त घोषणा गर्दा आफूहरूलाई काम गर्न अप्ठ्यारो भएको बताए ।

उनी भन्छन्, ‘सहकारीमा समस्या आउनेवित्तिकै समस्याग्रस्त घोषणा गरेको भए बेलैमा कार्यालय सिल गरेर अध्ययन गर्न सकिन्थ्यो । तर, ढिला घोषणा हुँदा भएको कागजात सबै लुकाइसक्ने भएकाले अध्ययन गर्न समस्या भएको छ । हाडखोर मात्र अध्ययन गरेर नतिजा दिन गार्‍हो छ ।’

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको यो सहकारीका २८ हजार बचतकर्ताले ८ अर्ब बचत मागदाबी गरेका छन् । रकम मागदाबीका लागि गत माघ १८ गतेसम्मको समय दिइएको थियो । मागदाबीको समय थप हुने समितिले जनाएको छ ।

नेपालभर शिव शिखरका १ लाख ६८ हजार ७२५ बचतकर्ता छन । बचतकर्ताको १० अर्ब २९ करोड २९ लाख २६ हजार रूपैयाँभन्दा बढी घोटाला गरेको बताइएको छ । एक दशकअघिदेखि खुलेको यो सहकारीले अरु भन्दा बढी व्याज दिएर निक्षेप तानेको थियो ।

रकम नतिरेपछि शिव शिखरको विद्युतीय अभिलेख हेरिरहेको इन्फो डेभलपरले सफ्टवेयर बन्द गरिदिएको छ । सफ्वेयर नै बन्द हुँदा सहकारीको अवस्था, त्यहाँ रहेको बचत तथा ऋणको विवरण प्राप्त गर्न कठिन भएको समितिले जनाएको छ । सफ्टवेयर खुलाइदिन डेभलपरलाई पत्र पठाइएको पौडेलले बताए ।

शिखर अर्गनाइजेन लिमिटेड मातहत ३० वटा कम्पनी सञ्चालनमा छन् । उपकार मिडिया, गोरखा टी एण्ड कफी, ब्रिटिस गोर्खा गोल्डेन प्रालि, गोरखा बेभरेज, गोरखा शप एण्ड केमिकल इन्डस्ट्रिज प्रालि, पेट्रोल पम्प, गार्डेन मार्ट र उद्योग खोल्न भन्दै जग्गा खरिद गर्ने तथा लगानी गरेर बचतकर्ताको रकम हिनामिना गरेको सीआईबीको निष्कर्ष छ ।

सरकारले हालसम्म हाम्रो नयाँ कृषि सहकारीसहित १६ सहकारी समस्याग्रस्त घोषणा गरेको छ । जसमा स्ट्याण्डर्ड मल्टिपर्पोज, कुबेर बचत र चार्टड सेभिङको मागदाबी भएको सम्पूर्ण बचतकर्ताको दाबी भुक्तानी भइसकेको छ । सोसाइटी बचत, लुनिभा बहुउद्देश्यीय सहकारीको कार्य अन्तिम चरणमा पुगेको छ । अन्यको हकमा भने सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक तथा कर्मचारीको सम्पत्ति रोक्का गरेर लिलामको प्रक्रिया अघि बढाइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा
डोटीको खगेन्द्र अटो वर्कसपमा यामाहाको शोरुम,मोटरसाईकल सर्भिसमा…
बिरेन्द्र वड / धनगढी । डोटीको खगेन्द्र अटो वर्कसपमा मोटरसाईकल सर्भिसमा १० प्रतिशत छुट दिने भएको छ… विस्तृतमा