मासिँदै परम्परागत ‘न्वालो’

August 22, 12:54

बैतडी  । दशरथचन्द नगरपालिका–२, देहिमाडौँमा रहेको न्वालो (परम्पपरागत कुवा) को पानी कुनै बेला हजारौँ घरपरिवारको तिर्खा मेट्ने मूल थियो। यही कुवाको पानी प्रसिद्ध निङ्लासैनी मन्दिरमा चढाउने परम्परा रहेको स्थानीय बुढापाका बताउँछन्। 

गाउँ–गाउँ तथा स्थानीय बजारमा धाराको पानी पुगेपछि अहिले कुवाहरू फोहोरले भरिएका छन्। कुवा फोहोर भएकाले मन्दिरमा यहाँको पानीसमेत चढाइँदैन। देहिमाडौँ बजारबाट करिब पाँच मिनेटको दूरीमा रहेको देही न्वालोमा बजारबाट निस्कने ढलको पानी मिसिने गरेको छ।

१९९० सालमा ढुङ्गा र स्लेटले बनेको पुर्खाको चिनोका रूपमा रहेको न्वालो मासिएकोमा थोरैलाई चिन्ता भए पनि अधिकांशलाई चासो नभएको स्थानीय युवा भुवन बोहराले बताए।  

बजारको ढल कुवामा मिसिन थालेपछि वडा कार्यालयबाट पर्खाल लगाउने काम अगाडि बढे पनि पर्याप्त बजेट नभएको दशरथचन्द नगरपालिका–२, का वडाध्यक्ष सूर्य बोहराले बताए । 

देहिमाडौँ बजार र गाउँका करिब एक हजार घरधुरीका लागि ग्वाल्लेकबाट आएको धाराको पानी अपुग भएपछि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपियाँ खर्च गरेर लिफ्ट खानेपानी योजना निर्माण थालेको वडाध्यक्ष बोहराले बताए । 

पाँच वर्षदेखि निर्माण भइरहेको देहिमाडौँ लिफ्ट खानेपानी योजना पूरा हुने चरणमा पुग्दा छेउमै रहेको परम्परागत कुवालाई हेला गरिएको स्थानीय दिनेश बोहराले बताए । स्थानीय निङ्लासैनी भगवती मन्दिरमा दसैँमा लाग्ने मेलामा यही कुवामा भक्तजनले नुहाउने गर्छन्। 

पछिल्लो समय स्थानीय तहको सरकारले जथाभाबी डोजरले सडक खन्दा परम्परागत कुवा र न्वालो मासिँदै गएका छन्। पानीको प्रमुख स्रोतका रूपमा रहेका कुवाको संरक्षणमा स्थानीय सरकारको ध्यान जानु पर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्ण बोगटीले बताए । डिभिजन खानेपानी कार्यालयको तथ्याङ्क अनुसार, बैतडीमा ८४ प्रतिशत घरधुरीमा खानेपानीका धारा निर्माण भएका छन्। परम्परागत कुवाहरू मासिएका छन्। 

जलवायु विज्ञ लक्ष्मीदत्त भट्टले अनुसार डोजरले सडक खन्दा जल मार्ग नै अवरुद्ध भई कुवा सङ्कटमा परेको बताए । बैतडीमा करिब दुई हजारभन्दा बढी कुवाहरू रहेको जानकारी पनि उनले दिए ।  

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा